आणविक हतियारको विषयमा इजरायल र इरानमा तनाव बढिरहेको छ ।
इरानबाट प्रकाशित हुने पत्रिका तेहरान टाइम्सले इजरायलको नक्सा प्रकाशित गरी सम्भावित लक्ष्यहरू देखाएको छ । इजरायलका रक्षामन्त्रीले इरानमाथि आक्रमण गर्ने भनी बयान दिएपछि इरानी पत्रिकाको दाबी प्रकाशित भएको हो ।
तेहरान टाइम्सले लेखेको छ, ‘इजरायली रक्षा बलहरूले सन् २०२२ मा व्यापक दायरामा युद्धाभ्यास गर्ने पुष्टि गरेको छ । इजरायली सेना इरानमाथि आक्रमण गर्ने विषयमा कति व्यग्र छ भन्ने यसबाट देखिन्छ । तर इरानले रक्षा उद्योगमा गरेको प्रगति इजरायललाई स्मरण गराइरहनुपर्दैन ।’
पत्रिकाले इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खमेनीको चेतावनीलाई दोहोर्याएको छ । इरानमाथि आक्रमणको गम्भीर परिणाम इजरायलले भोग्नुपर्ने खमेनीले सन् २०१३ मा चेतावनी दिएका थिए । इजरायलले गलत कदम चालेमा इरानले तेल अभिभ र हाइफालाई नष्ट गर्नेछ ।
तेहरान टाइम्सले छापेको नक्सा इरानको युद्ध योजनामा बारेमा आन्तरिक जानकारीमा आधारित हो कि आफ्नै भविष्यवाणीमा आधारित हो भन्ने कुरा बताएको छैन । नक्सामा लेबनानी र प्यालेस्टाइनी क्षेत्रलाई पनि लक्ष्य बनाइएपछि प्रश्न उठिरहेको छ ।
इजरायलका सञ्चारमाध्यममा इजरायलले इरानका आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि डेढ अर्ब डलरको फन्डिङलाई स्वीकृति दिएको खबर आएको थियो । यस बजेटलाई लडाकू विमान र गोप्य जानकारी बटुल्न र भूमिगत हतियार केन्द्रहरूमा आक्रमण गर्ने हतियार बनाउन उपयोग गरिनेछ ।