
भारतमा उत्तर प्रदेशको विधानसभा निर्वाचनअघि चित्रकूटमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले घर वापसीको आह्वान गरेका छन् ।
घर वापसी भनेको हिन्दू धर्म छोडेर अन्य धर्म अपनाएकाहरूले पुनः हिन्दू धर्ममा फर्कनु हो ।
हिन्दू एकता महाकुम्भ नामक कार्यक्रममा भागवतले हिन्दूहरूमाथि भइरहेको अन्याय, मठमन्दिरको सुरक्षा, धर्म परिवर्तनमा रोक, जनसंख्या नियन्त्रण, राष्ट्रवाद लगायतका विषयमा चर्चा गरे ।
उनले आरएसएसका मानिसहरूलाई संकल्प पनि गराए, ‘म हिन्दूलाई धर्मबाट विमुख हुन नदिने प्रतिज्ञा गर्छु । धर्म छोडेर गएकाहरूलाई घर वापसीका लागि काम गर्नेछु । उनीहरूलाई परिवारको हिस्सा बनाउनेछु । हिन्दू महिलाहरूको अस्मिता, सममान र शीलको रक्षाका लागि सर्वस्व अर्पण गर्नेछु । जाति, वर्ग, भाषा र पन्थको भेदभावबाट माथि उठेर हिन्दू समाजलाई सशक्त तथा अभेद्य बनाउनका लागि पूरै शक्ति लगाएर काम गर्नेछु ।’