
काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवस धुमधामका साथ मनाएको छ ।
बुधवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै महानगर दिवस मनाइएको हो ।
दिवसका अवसरमा विभिन्न ४० वटा वुथबाट सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप, मधुमेह, रक्तचाप र कोभिड परीक्षणसहितको वृहत स्वास्थ्य शिविर, विशेष सरसफाई, वाकथन, मैत्री फुटबल खेल, सांस्कृतिक कार्यक्रम, ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिएका थिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा चित्रकार हरिप्रसाद शर्माले कोरेका काठमाडौं उपत्यकाका संस्कृति, सम्पदा र परम्परा झल्किने चित्रहरुको संगालो सार्वजनिक गरेका थिए । त्यसै गरी महानगर प्रमुख शाक्यले प्रहरी बलले प्रयोग गर्ने वडी वन क्यामराको शुभारम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताए ।
सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको शीघ्र समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेगा हल निर्माण, मोनो रेल सञ्चालन र तीनकुनेको बुद्धपार्क निर्माणका लागि केन्द्र सरकारको पनि सहयोग आवश्यकता पर्ने हुँदा काम अघि बढ्न नसकेको जानकारी दिए ।
उनले भने, 'काठमाडौं महानगरपालिकाकाले गोर्खा भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मारेको छ ।'
काठमाडौं महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते महानगर घोषणा गरिएको थियो ।
यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
महानगर दिवसका अवसरमा बुधवार काठमाण्डौका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको थियो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत १० जना पत्रकारलाई जनही रु ५० हजारका दरले सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने अन्य विभिन्न विधाका करिब २०० लाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।