
कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अंकले ओरालो लागेर ४५३.५३ मा पुगेको छ ।
कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अंकले मात्रै उकालो लाग्यो ।
बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अंकले ओरालो लागे ।
कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ९ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल बङ्गलादेश बैंक ७ करोड ८ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स ६ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी ६ करोड ८७ लाख ३३ हजार ५६६ र नेसनल हाइड्रोपावर ६ करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेका छन् ।
नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतले कमाए ।
ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६.११ प्रतिशतले गुमाए । बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४७२ बराबर पुगेको छ ।