
बहुचर्चित पनामा पेपर्स ‘लिक’को विषयमा बलिउड अभिनेत्री ऐश्वर्या राय सोमवार दिल्लीको लोकनायक भवनमा ईडीसमक्ष पेश हुँदैछिन् । ईडीले उनलाई सोधपुछका लागि बोलाएको हो ।
पनामा पेपर्सको विषयलाई लिएर लामो समयदेखि अनुसन्धान चलिरहेको छ । यो विषयमा अभिषेक बच्चनसँग पनि सोधपुछ भइसकेको छ ।
पनामा पेपर्समा चलचित्रकर्मी र उद्योगीसहित ५०० भारतीयको नाम समावेश छ ।
उनीहरूलाई कर छलेको आरोप लागेको थियो । पनामा पेपर्स लिक भएपछि अमिताभले आफूले भारतीय नियमअनुसार नै विदेशमा धन पठाइएको बताएका थिए ।
‘ट्याक्स हेवन’ भनेर चिनिने देश पनामाको एक ल फर्म मोसेक फोन्सेका ४० वर्षको डाटा २०१६ अप्रिल ३ लिक भएको थियो । यसमा विश्वभरका धनी र प्रभावशाली व्यक्तिहरूले कर छल्न पैसा अफशोर कम्पनीमा लगाइरहेको भन्ने खुलासा भएको थियो ।