भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले सोमवार बिहान बौद्ध गुरु दलाई लामासँग मकलियोडगंजमा भेटघाट गरेका छन् ।
दुवैजनाबीच बन्द कोठामा लगभग ५० मिनेट कुराकानी भएको बताइएको छ । यस भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दलाई लामाले कोभिड कालमा दोस्रोपटक भौतिक उपस्थितिको भेटघाट गरेका हुन् । उनले अनुयायी र बौद्ध भिक्षुहरूसँग डिसेम्बरदेखि भेटघाट शुरू गरेका हुन् ।
आरएसएस नेता इन्द्रेश कुमारले भागवत र दलाई लामाबीच धेरै विषयमा चर्चा भएको बताए । चर्चाका क्रममा दलाई लामाले विश्व शान्तिका लागि भारत धार्मिक सद्भावको सर्वोत्तम उदाहरण भएको बताए । संसारका विस्तारवाद रोकिनुपर्ने र स्वतन्त्रतालाई सममान गरिनुपर्ने उनले बताए ।
विस्तारवाद भनेर दलाई लामाले चीनतर्फ संकेत गरेका हुन सक्छन् ।
मोहन भागवतले दलाई लामासँगको कुराकानीमा भारतीय संस्कृति समावेशी रहेको र सबैलाई साथ लिएर हिँड्ने बताए । धार्मिक सद्भावको विश्वमै सर्वोत्तम मोडल भारतले उपलब्ध गराएको उनको कथन छ । वरिपरिका देशमा भाइबन्धुहरू बस्ने र तिब्बत आफूहरूको भाइ भएको उनले बताए । तिब्बतको हरेक सुखदुःखमा आफू साथ रहेको उनको भनाइ छ ।