चीनकी टेनिस स्टार पङ श्वाईले आफूमाथिको यौन उत्पीडनको कुरा नगरेको सिंगापुरको एक पत्रिकालाई बताएकी छन् ।
गत नोभेम्बर महिनामा आफ्नो वेबो अकाउन्टमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व शीर्ष नेतामाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।
पङले भनिन्, ‘म महत्त्वपूर्ण कुरा भन्न खोज्दैछु । मलाई कसैले यौन शोषण गरेको भनेर कहिल्यै लेखेको छैन । म यो स्पष्ट पार्न चाहन्छु ।’
पूर्व उपप्रधानमन्त्री चाङ गाओलीविरुद्ध पङले यौन शोषणको आरोप लगाएपछि केही दिन गायब भएकी थिइन् । त्यसपछि उनको अवस्थाको चिन्ता व्यक्त गर्दै संसारभरि हलचल भएको थियो ।
पङको अवस्थाका बारेमा चीन सरकारले सन्तोषजनक जवाफ नदिएकाले वीमेन्स टेनिस एसोसिएसनले चीनमा हुने आगामी टुर्नामेन्ट रद्द गरेको थियो । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पङको अवस्था सामान्य रहेको बताएको थियो ।
अहिले पङले सरकारको दबाबमा बयान फिर्ता लिएको बताइँदैछ ।