
नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई जिल्ला प्रशासन कार्यालयले विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएको छ ।
पत्र काट्दै मंगलवार बिहान १०ः३० बजे जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएको हो ।
'अभिभावक सहितको छलफल राखेका छौँ,' मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भने,'उहाँहरुले पुष्टि गर्ने कागज ल्याउन सक्नु भएन भने उहाँहरुले भोलि देखि नै पठनपाठन शुरू गर्नुपर्छ ।'
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ शुरू गर्ने बताएपछि विद्यार्थी र अभिभावक आन्दोलित बनेका छन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झण्डै ५ लाख रुपैयाँ बढी मागेपछि अभिभावक समेत आन्दोलित बनेका छन् ।
कलेजले आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेशका मन्त्रीदेखि प्रशासनको साथ खोजेका छन् ।
अभिभावकहरूले हिजो मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहाललाई ज्ञापनपत्र बुझाउँदै अतिरिक्त शुल्कको विषयमा छानबिन गरिदिन माग गरेका थिए । अविभावक तथा विधार्थी आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारीले २४ घन्टा भित्र कागजात सहित उपस्थित हुन भनि चिठी लेखिसकेका छन् ।
कलेजले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्टर्नशिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार, होस्टेल शुल्क १ लाख ४४ हजार रुपैयाँ बुझाउन दबाब दिदै आएको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि जम्मा रकम ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्ष १४ लाख ७८ हजार ६७५ रुपैयाँ अभिभावकले बुझाएका छन् ।
चिकित्सा शिक्षा आयोगले नै परिक्षा लिएर विद्यार्थीलाई कलेज रोज्न लगाएको थियो ।
'नोवेल मेडिकल कलेजले आफै बिद्यार्थी भर्ना गराउन पाउँदैन,' चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने,'काठमाडौं विश्वविद्यालय मार्फत उनीहरु त्यहाँ गएका हुन् ।'
विद्यार्थीले काठमाडौं विश्वविद्यालयको नाममा पैसा बुझाएपछि अन्य पैसा लिन नहुने समेत उनले बताए । काठमाडौं विश्वविद्यालयलाई यो बिषयमा पत्र नै लेखि सकेको उनले बताए ।
यता नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा. रामहरी घिमिरेले भने यो देशव्यापी समस्या रहेको बताएका छन् । उनले काठमाडौं विश्वविद्यालयलेनै लिन भनेकोले लिएको समेत बताए ।