०७ असार २०८३, आइतबार

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व- गृहमन्त्री खाण

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व- गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । 

मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा शुरू भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन् । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए । 

‘यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो,’ उनले भने, ‘नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो ।’

गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनको भनाइ छ । 

‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । र, त्यसलाई उहाँहरूले स्वीकार गर्नुभएको हो ।’ 

उनले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीच छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्कने र अगाडि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्