
नेपाल बार एसोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् ।
मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका हुन् ।
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन राजनीतिक दलहरूले पहल गर्नुपर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गरेका छन् । ‘उहाँ नांगिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ ? के हामी यो चाहन्छौँ ?,’ उनले भने, ‘उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस् । न्यायपालिकालाई नांगिन नदिनुस् । तपाईँले राजीनामा गर्नुस् । बहिर्गमन हुनुस् भन्ने कुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौँ ।’
केही दिनदेखि स्थगन भएको बार एसोसिएसनको आन्दोलन पुनः शुरू भएको छ । मंगलवार कानून व्यवसायीहरुले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको नेपाल बार एसोसिएसनले जनाएको छ ।