२५ जेठ २०८३, सोमबार
प्रतिनिधि सभा बैठक

पुस १८ गतेसम्मका लागि स्थगित भयो संसद् बैठक, एमसीसी अनुमोदनको डेडलाइन घर्कियो !

पुस १८ गतेसम्मका लागि स्थगित भयो संसद् बैठक, एमसीसी अनुमोदनको डेडलाइन घर्कियो !

बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न बोलाइएको भनेर चर्चा भएको प्रतिनिधि सभाको बैठक ११ दिनका लागि स्थगित भएको छ । 

बुधवारको बैठकमा केही अध्यादेश स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।

डिसेम्बर महिनाको अन्तिमसम्ममा एमसीसी अनुमोदन गर्ने भनेर सरकारले एमसीसीका उच्च अधिकारीलाई आश्वासन दिएको थियो । अब प्रतिनिधि सभाको बैठक सन् २०२२ को जनवरी २ तारिखका दिन बस्नेछ । 

नेपाल भ्रमणमा आएकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमार, प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जाँदा एमसीसीका डेपुटी सीईओ एलेक्सिया लतोर्तु, नेपाल भ्रमण गरेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग देउवाले एमसीसी अनुमोदनको प्रतिबद्धता जनाएका थिए ।

एमसीसीका अधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री एवं सरकारका मन्त्रीहरूले डिसेम्बरभित्रमा एमसीसी अनुमोदन गर्ने आश्वासन दिएका स्रोतले बतायो । 

एमसीसी अनुमोदनकै लागि भनेर सरकारले कांग्रेसको महाधिवेशनको चटारो नसकिँदै मंसिर २८ गतेका लागि संसद्को हिउँदे अधिवेशन आह्वान गरेको थियो । 

यही अधिवेशनबाट एमसीसी अनुमोदनको तयारी भएको भन्दै साना वामपन्थी दलले विरोधका कार्यक्रमलाई तीव्र बनाएका थिए । 

कार्यव्यवस्था परामर्श समितिमा भएको सल्लाहअनुसार नै सभामुखले प्रतिनिधि सभाको बैठक लामो समय स्थगित गरेको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए ।

‘एमसीसीबारे दलहरूबीच नै सहमति नभएको र सत्ता गठबन्धनले पास गर्ने/नगर्ने भन्ने निर्णय गर्न कार्यदल बनाएकाले अहिले नै छलफल हुन सक्ने अवस्था रहेन,’ संसद्का ती अधिकारीले भने । 

नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल एमसीसी पारित गर्नुपर्ने पक्षमा देखिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार नै निर्णयमा नपुगेको भन्दै एमसीसीबारे कुनै धारणा बनाएको छैन ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् । 

सभामुख सापकोटाले पनि एमसीसीबारे दलहरूबीच सहमति हुनुपर्ने र संसद् अवरोध हट्नु पर्ने बताउँदै अडान राखेका छन् ।

दलहरूबीच सहमति जुट्न नसक्दा संसद सचिवालयमा दर्ता भएर लामो समय प्रक्रियामा नगएको एमसीसी अगाडि बढ्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्