१६ असार २०८३, मंगलबार

कांग्रेस प्रदेश २ अधिवेशनमा आज मतदान हुँदै

कांग्रेस प्रदेश २ अधिवेशनमा आज मतदान हुँदै

नेपाली कांग्रेसको जनकपुरधाममा जारी २ नम्बर प्रदेशको अधिवेशनअन्तर्गत मतदान बिहीवार हुँदैछ ।

मतदान बिहान ८ बजे शुरू हुने छ ।

मतपत्र छपाइमा ढिलाइ भएको भन्दै बुधवार मतदान प्रक्रिया स्थगित गरिएको थियो ।

मंगलवार उम्मेदवारले मनोनयन दर्ता गराएपछि बुधवार बिहान ८ बजेदेखि मतदानको समय तालिका निर्धारण गरिएको थियो ।

मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मतदान कार्यतालिका परिवर्तन गरी दिउँसो १ बजेदेखि हुने निर्वाचन समितिले तय गरेको थियो । तर मतपत्र छपाइ हुन नसकेकाले बिहीवार बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको थियो । 

यसअघि बुधवारै मतदान हुनुपर्ने र रातिको समयमा मतदान गर्न नहुने भन्दै २ पक्षबीच केहीबेर झडप समेत भएको थियो । २ समूहबीच झडप हुन थालेपछि अधिवेशन स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

कांग्रेस २ नम्बर प्रदेशको नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

संस्थापन पक्षबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठ, सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रिता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन इतर पक्षबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्