
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनुपर्ने बताए ।
अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत ल्याउने नीति सरकारले बनाउनुपर्ने धारणा राखे । उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए ।
अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । अध्यक्ष उपाध्यायले भने, ‘तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनु आवश्यक छ । राष्ट्र बैंकले यस्तो नीति बनाएमा बजारमा तरलताको समस्या कमै आउने थियो । अहिले एनआरएनमार्फत नेपाल आउने रकम, रेमिट्यान्स समेत बैंकिङ प्रणालीभन्दा बाहिरबाट आउने गरेको छ । पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन । अहिले तरलताको समस्या केही मात्रामा रहे पनि बिस्तारै अर्थतन्त्र लयमा आउँदै गएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । अर्थतन्त्र व्यापारमा आधारित भएकाले बेला–बेला तरलताको समस्या आउनु स्वाभाविक हो । ट्रेड बेस अर्थतन्त्रका कारण बेला–बेला तरलताको समस्या आउँछ । कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ । अब बैंकहरू पनि सन्तुलित भएर जान जरुरी छ ।’
डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरूले बढीभन्दा बढी उत्पादनमूलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताए । अध्यक्ष पोखरेलले बैंकहरूले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताए ।
उनले राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्र कुन–कुन हुन् भनेर छुट्याइदिनुपर्ने बताए । अध्यक्ष पोखरेलले भने, ‘अब बैंकहरूले पनि कर्जा लगानी गर्दा उत्पादन क्षेत्रमा बढी गर्ने प्रयास गर्ने तयारी गर्छाैं तर पछिल्लो समय बैंकहरूले उत्पादनमूलक क्षेत्रभन्दा बाहिर धेरै लगानी गरेर मात्रै बजार तरलता अभाव भएको होइन । बैंकहरूमा ५२ प्रतिशत फिक्स डिपोजिट र २२ प्रतिशत मात्रै चलायमान कर्जा प्रवाह रहेको छ । कर्जा प्रवाह भए अनुसार निक्षेप नबढ्दा तरलतामा केही असहज भएको हो । अहिले कुन उत्पादन क्षेत्र हो भन्ने समस्या रहेकाले राष्ट्र बैंकले उत्पादनका क्षेत्र छुटयाइदिनुपर्छ । अहिले बैंकहरूले १५ प्रतिशत उत्पादन क्षेत्रमा कर्जा लगानी गरिरहेका छन्् । कृषिमा ८ प्रतिशत, होलसेल तथा रिटेलमा २० प्रतिशत कर्जा लगानी बैंकले गरेका छन् ।’
नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरूमा तरलता बढी हुँदा गुणस्तरीय कर्जा नराम्रो हुने गरेको बताए । उनले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताए । अध्यक्ष तुलाधरले वित्तीय संस्थाहरूले उत्पादनका क्षेत्रमा कर्जा लगानी गर्ने गरेको बताए ।
उनले भने, ‘नेपालमा कुन क्षेत्रलाई उत्पादनको क्षेत्र मान्ने छुट्याउन सकिएको छैन । राष्ट्र बैंकले नै यसलाई तोकिदिनुपर्छ । नेपालमा एसेम्बल गर्ने वस्तु आयात हुन्छ । आयात गरेर नेपालमा नै वस्तु उत्पादन गरिन्छ । त्यस्ता उद्योगलाई उत्पादन उद्योग मान्ने कि नमान्ने ? अहिले हामीले घरजग्गा, रियल स्टेटको कारोबारलाई अनुत्पादन क्षेत्रमा राखेका छौं तर सिमेन्ट, डन्डीहरू प्रयोग गर्छाैं ।’