१२ असार २०८३, शुक्रबार

‘बिहेबारी बीस वर्षपारि’

‘बिहेबारी बीस वर्षपारि’

बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् ।

बालविवाहसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।  

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रुपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताइन् ।

उनले भनिन्, “गाउँमा बालविवाह लुकिछिपी भइरहेका छन् । सो तथ्याङ्क सङ्कलन हुन सकेको छैन । 

स्थानीय तहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ । यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ । शिक्षक, कर्मचारी, जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ । उनीहरूलाई कानूनको दायरामा ल्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष रोकायाले बताइन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममै ‘बिहेबारी २० वर्षपारि’ भन्ने कार्यक्रम अघि बढाइसकेको छ ।  राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रुपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताए ।

प्रहरी निरीक्षक युवन चौधरीले बालविवाह गरेको उजूरी अहिलेसम्म नपरेको जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ मा दुई बालविवाहका उजूरी परेका थिए । त्यो भन्दा पछिल्लो समयमा उजूरी नपरेका जिल्ला प्रहरी कार्यालय जनाएको छ । बाल विवाहविरुद्ध जिल्लाभर अभियान सञ्चालन गर्नुपर्ने सामाजिक विकास कार्यालयका प्रमुख तुलरज चौलागाईंले बताए ।

बालविवाहलाई सरकारले कुरीतिका रुपमा घोषणा गरिसकेको अवस्थामा कानुनी ज्ञान फैलाउनुको विकल्प नभएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको आयोजनामा बालविवाहसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्