
पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।
उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ ।
प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबीजन प्रदर्शन गरिने जानकारी दिए ।
महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौतीलगायत विषयमा छलफल गरिने उनले बताए ।
महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनीका साथै माछापालन गर्ने तरिका तथा बजारीकरणलाई प्राथमिकतामा राखिएको छ । उनले भने, ‘माछापालन व्यवसायको प्रवद्र्धनका लागि महोत्सवमा माछाको भुराको प्रदर्शनी, माछा सहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका कक्ष (स्टल), चेतनामूलक सामग्री, श्रव्यदृश्य र गोष्ठी गरिने छ ।’