
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११औं राष्ट्रिय महाधिवेशन बिहीवारदेखि बुटवलमा शुरू भएको छ ।
महाधिवेशनको नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गरे ।
मजदुरहरू राजनीतिमा आएपछि मात्र उनीहरूको भविष्य सुरक्षित हुने मजदुर नेता श्रेष्ठको भनाइ छ । ‘मजदुरले राजनीति नगरे कसले गर्छ ?’ अध्यक्ष श्रेष्ठले भने, ‘मजदुरले पनि देश चलाउन सक्छन् । मजदुरी गरी मन्त्री बनेका व्यक्तिले मात्र मजदुरको समस्या बुझ्ने हुन्छ । त्यसैले मजदुरहरू राजनीतिमा आउनुको विकल्प छैन ।’
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुर सहभागी हुन श्रेष्ठले आग्रह गरे । ट्रेड युनियन महासंघले प्रतिनिधित्वको अधिकार कार्यान्वनको चरणमा पुर्याएको नेता श्रेष्ठले बताए ।
अधिवेशनले आन्दोलनको समीक्षा गर्दै चुस्त काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरहरूका समस्या समाधान गर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वनमा ल्याउन नदिन अनेक प्रयासहरू भइरहेका बताए । उनले मजदुरको न्यूनतम ज्याला अनिवार्य कार्यान्वन हुनुपर्ने बताए ।
जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात क्षेत्रमा सेटिङ हुँदा श्रमिक र मजदुरहरू अनाहकमा जेलमा जानुपर्ने अवस्था सिर्जना भएको बताए ।
उनले आफूहरूको प्रयासले नै यातायातलाई कम्पनीमा जाने माग गरिएको बताए । ३ दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट ३५० भन्दा बढी मजदुर नेताहरू आएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।