०६ असार २०८३, शनिबार

प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा छन्- प्रचण्ड

प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा छन्- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन् । 

शुक्रवार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताएका हुन् । 

राजनीतिक परिवर्तनहरूलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताए । कम्युनिष्ट पार्टीहरूबीचमा एकता भए मात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उनले उल्लेख गरे । 

‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरू प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन्,’ उनले भने, ‘त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरू एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहीँ, कतै हामीले रिल्याक्स गर्नुहुने स्थिति छैन ।’

अध्यक्ष दाहालले नेकपा (एमाले)ले धाक दिँदै हिँडेको भन्दै आगामी निर्वाचनमा उनीहरूको हालत जनताले देखाउने टिप्पणी गरे । 

‘आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो,’ उनले भने, ‘६ वटै प्रदेशबाट मुख्यमन्त्री चट् भयो । अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन् । उनीहरू त्यो धाक, धम्की मात्रै हो । आउने निर्वाचनमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन् ।’

अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरूसँग आफूहरूको कुनै पनि प्रकारको वैरभाव नरहेको बताए । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकीकरण भएको घोषणा गरिएको छ । नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्