
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् ।
रेडियो नेपाल कर्मचारी युनियनको आठौं अधिवेशन समारोहमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायित्वमा समस्या देखिँदै गएको संकेत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठीक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए ।
‘एउटा कोण नेकपा एमालेको छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायित्व चाहिन्छ भन्ने छ,’ पोखरेलले भने, ‘अर्काेतर्फ संविधानप्रतिको एकनासको सहमति छैन, कानूनको विषयमा एकमत छैन, मूल्य मान्यतामा एकमत नभई पनि गठबन्धन बनेको छ ।’
राष्ट्रिय राजनीतिको परिदृश्यलाई ठीक ढंगले बुझेर कुन ठाउँमा उभिने हो निर्णय गर्न जरुरी रहेको उनको भनाइ थियो ।
उनले राज्य संरचनाभित्र न्यायपालिकाका उद्देश्यअनुसार नीतिगत र कानूनी प्रबन्ध हुनुपर्नेमा जोड दिँदै उद्देश्य भाषणमा राम्रा हुने तर त्यसलाई बहन गर्ने साधन ठीक ढंगले नबन्दा नीति एकातिर जनता अर्कातिर भइरहेको बताए ।
लामो इतिहास बोकेको रेडियो नेपालमा हुनुपर्ने प्रगति हुन सक्यो कि सकेन भनेर हेर्नुपर्ने उनको धारणा थियो । उनले राष्ट्रिय सरोकारको मुद्दामा सचेत र सजक हुन पनि सुझाव दिए ।