
संघीय इकाई कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेका छन् ।
भैरहवामा सिथ्त शान्तिनगरमा रहेको कार्यालयको निवासमा उनी मृत फेला परेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
शुक्रवार बिहान ९ बजेसम्म बाहिर ननिस्किएका उनी आफ्नै सरकारी निवासभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
यादव २०४९ सालमा सेवा प्रवेश गरेका उनी ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउन लागेका थिए । नवलपरासीको रामग्राम नगरपालिका–५ निवासी उनका १ छोरा र पत्नी छन् ।
उनको मृत्युको कारण यकिन खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । सानो प्वालबाट मात्रै उनी झुण्डिएको देखिएको थियो ।
प्रहरीले अपराह्न आफन्त बोलाएर मात्रै ढोका खोलेका थिए । मृतक यादवकी पत्नी साँझ मात्र भैरहवा आइपुगेपछि ढोका खोलिएको थियो ।
मृतकका बुवा शिवप्रसाद यादव दिउँसो १२ बजे नै भैरहवा आएका थिए तर मृतककी पत्नी र छोरा नआई ढोका नखोल्ने र अनुसन्धान प्रक्रिया पनि शुरू नगर्ने भएपछि प्रहरी दिनभर बाहिर कुरेरै बसेको थियो ।
प्रहरीको उच्च तहको घटना भएकाले गृह मन्त्रालय या प्रहरी हेडक्वार्टरबाट पनि स्वीकृति लिनुपर्ने भएकाले ढिलाइ भएको प्रहरीको भनाइ छ । प्राविधिक टीमबाट अनुसन्धान शुरू गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।