
धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो ।
दाताको सहयोगमा मूर्ति निर्माणको कार्य भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए । ‘मूर्ति निर्माणका लागि दाताबाट संकलित सहयोग ३ लाख ९३ हजार खर्च गरेका छौं,’ अध्यक्ष ठगुन्नाले भने, ‘अपुग रकमका लागि दाताले सहयोगको आश्वासन दिएका छन् ।’
गत भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ । ‘सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन,’ उनले भने, ‘स्वस्फूर्त रूपमा दाताले सहयोग रकम उपलब्ध गराउनुभएको छ । त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ ।’
वर्षौदेखि धार्मिक महत्त्व बोकेका ओझेलमा परेका क्षेत्रहरू मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीय भक्तजनको भनाइ रहेको छ । स्थानीय लालसिंह महराले भने, ‘यस क्षेत्र वरिपरिका सुनदेवी ताल, प्राचिन बैजनाथ मन्दिर, मुडका धाम, कालापानी भगवती थानलगायत प्रचारप्रसारमा टेवा पुग्छ ।’