१० असार २०८३, बुधबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै, लगत्तै बैठक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै, लगत्तै बैठक

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिवार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत मंसिर २४–२८ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

केन्द्रीय सदस्यहरूमध्ये ३५ खुला, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेशी ९, थारु ४, मुस्लिम ३ तथा पिछडिएको क्षेत्र, अल्पसंख्यक र अपाङ्गताबाट १/१ केन्द्रीय सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो ।

यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ । 

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने लगायतको कार्यसूची रहेको बताइएको छ । कांग्रेसले बैठकको निर्णयसहित आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ ।

आयोगले यसअघि सो प्रयोजनका लागि पुस १० गतेसम्म अन्तिम म्याद तोकी सो विषय सम्बन्धी सूचना प्रकाशन गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्