
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव–बाबुराम भट्टराईको जनता समाजवादी पार्टीसँग पार्टी एकताको लागि छलफल भइरहेको बताएका छन् ।
माओवादी केन्द्रले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन प्रचण्डले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा उनले संसदभित्र र संसद बाहिर रहेका पार्टीहरूका बीच एकताको लागि छलफल भइरहेको बताएका हुन् ।
‘माधव नेपालसँग त्यत्रो दूरी छैन । एउटै मान्यतामा संगठन बनाएका छौं । यसले पनि नजिक ल्याउँछ । ढिलोछिटो एकै ठाउँमा हुन्छौं भन्ने लाग्छ,’ प्रचण्डले भने ।
त्यसबाहेक उपेन्द्र यादव र बाबुराम भट्टराई जनता समाजवादी पार्टीसँग पनि एकीकरणको लागि छलफल भइरहेको प्रचण्डले बताए ।
‘गठबन्धनमा रहेकाहरूसँग एकताको लागि छलफल गरिरहेका छौं । संसद बाहिरका साना दलसँग पनि एकताको विषयमा पनि छलफल चलिरहेको छ,’ उनले भने ।
माओवादी केन्द्रले विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्व नेकपा माओवादी (क्रान्तिकारी)सँग पनि एकताको लागि छलफल भइरहेको बताएको छ ।