०६ असार २०८३, शनिबार

न्यायपालिकाभित्र बिचौलियाहरूको प्रभाव बढ्दै जानु स्वतन्त्रतामाथि गम्भीर प्रहार- बार अध्यक्ष श्रेष्ठ

न्यायपालिकाभित्र बिचौलियाहरूको प्रभाव बढ्दै जानु स्वतन्त्रतामाथि गम्भीर प्रहार- बार अध्यक्ष श्रेष्ठ
फाइल तस्वीर।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन जारी राखेको छ । आइतवार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरेको हो । 

आन्दोलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए । 

उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरूले प्रवेश पाएको र प्रभाव बढ्दै गएकाले न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत बताए । 

अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं बिचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराए । 

‘संविधानको धारा १२६ अनुसार न्याय सम्पादनको नेतृत्व लिएका चोलेन्द्रशमशेरले न्याय सम्पादन गर्न नसकेकोले उहाँ असक्षम हुनुहुन्छ, उहाँ पदमा बसिरहन संविधानले दिँदैन,’ उनले भने । 

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ति शुद्धीकरणका लागि नेताहरू सम्पत्ति शुद्धीकरण कार्यालयमा जाने तयारीमा रहेको बताए । उनले सम्पत्ति शुद्धीकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने बताए । 

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरूसहित कानून व्यवसायीहरूले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्