२३ असार २०८३, मंगलबार

सिसेल्समा नेपाली श्रमिक पठाउने तयारी

सिसेल्समा नेपाली श्रमिक पठाउने तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा आइतवार भएको भेटमा उनीहरूबीच नेपाल र सिसेल्सको द्वीपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए । 

नेपाली कामदारहरू सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने जानकारी दिए । 

सिसेल्स हेर्ने नेपाली राजदूतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । 

मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने ? कस्तो खालको सीप तालिम आवश्यक पर्दछ ? न्यूनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरूबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताएका थिए । कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो । 

राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षा गार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताएका थिए । उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुन सक्ने भन्दै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताए । 

राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तो पनि दिएका थिए । 

नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४ वर्ष भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्