१२ असार २०८३, शुक्रबार

२४१ जना कोरोना सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य

२४१ जना कोरोना सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो (बुधबार) भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९० जनाको निधन भइसकेको छ । बुलेटिनमा पछिल्लो २४ घण्टामा आठ हजार ८९७ जनामा कोरोना परीक्षण गर्दा २४१ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८७१ पुगेको छ ।

पछिल्लो समय थप २२८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ७४६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । 

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार  हजार ६३४, संस्थागत आइसोलेशनमा २३७, आईसीयूमा ८४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदैछ ।

त्यसैगरी पछिल्लो समय ५६ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म पहिलो मात्रा एक करोड ३९ लाख ७१ हजार ६६८ जनाले र पूर्ण मात्रा एक करोड तीन लाख १० हजार ६९२ जनाले खोप लगाएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्