
चीनले इन्फ्रारेड होमिङ प्रविधि भएको हाइपरसोनिक हतियार बनाएको दाबी गरेको छ ।
यस्तो क्षेप्यास्त्रले ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो कुनै क्षेप्यास्त्र वा लडाकू विमानबाट निस्कने तातोलाई पछ्याउन सक्छ । विशेषज्ञहरूका अनुसार, अमेरिकाले सन् २०२५ सम्म पनि यस्तो हतियार बनाउन गाह्रो छ ।
केही महिनाअघि चीनले अन्तरिक्षबाट आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । त्यसका विषयमा अमेरिकी सेनाका शीर्ष अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए ।
चीनको रिभ्यु जर्नल एयर यान्ड स्पेसमा शीर्ष वैज्ञानिक प्राध्यापक यी शिहले यस प्रविधिका विषयमा पेपर प्रकाशन गरेका छन् । उनका अनुसार, हाइपरसोनिक गतिमा हीट सेन्सिङको काम सजिलो छैन तर चीनले यसलाई सम्भव बनाएको छ ।
यस क्षमताले चिनियाँ क्षेप्यास्त्रहरूलाई कुनै पनि लक्ष्य ध्वस्त पार्न शक्ति दिन्छ । यस्ता क्षेप्यास्त्रहरूमा अभूतपूर्व सटीकता र गति हुन्छ । अनि यिनीहरूले स्टील्थ प्रविधियुक्त लडाक्र विमान, विमानवाहक युद्धपोत र सडकमा गुडिरहेको गाडीलाई समेत ध्वस्त बनाइदिन सक्छ ।
चीन र रुस दुवैले हाइपरसोनिक क्षेप्यास्त्र बनाएर परीक्षण गरिसकेका छन् । अमेरिकाले गरेको परीक्षण चाहिँ विफल भएको छ । तर आणविक युद्ध शुरू नहुन्जेल यी हतियारहरूको व्यावहारिक महत्त्व नभएको विशेषज्ञहरूको कथन छ ।