
खेलाडीहरूमाथिको कारवाहीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय क्रिकेट टीमका १४ खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गरेका छन् ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा खेलाडीहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथिको कारवाहीमा असन्तुष्टि जनाउँदै टीमका महत्त्वपूर्ण सदस्यहरू बन्द प्रशिक्षणमा नगएका हुन् ।
बन्द प्रशिक्षणमा सहभागी नहुनेमा कारवाहीमा परेका ४ खेलाडीका अलावा विनोद भण्डारी, रोहित पौडेल, कुशल भुर्तेल, करण केसी, विक्रम शोब, सुशन भारी, सन्दीप जोरा, कुशल मल्ल, अभिनाष बोहोर र नन्दन यादव छन् ।
खेलाडीहरूको वर्गीकरणमा असन्तुष्टि जनाउँदै मिडियामा बोलेको अभियोगमा ४ खेलाडीलाई क्यानले अनुशासनको कारवाही गरेको थियो । त्यसैको प्रभाव बन्द प्रशिक्षणमा परेको हो ।
क्यानसँगको अनुमतिमा प्रशिक्षक पुबुदु दसानायकेले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
खेलाडीहरूलाई शनिवार बेलुकासम्ममा होटलमा उपस्थित भइसक्न भनिएको थियो ।