
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)को सञ्चालक समिति बैठक बस्न नसक्दा नौ दिनदेखि दोहामा थन्किएको जहाज मर्मत हुन सकेको छैन ।
वायुसेवा निगम स्रोतले दिएको जानकारी अनुसार ‘९ एन एकेडब्ल्यू सगरमाथा’ नामक न्यारोबडी ए ३२०–२०० जहाज काठमाडौंबाट १३ पुसमा दोहा गएको थियो ।
आरए २३७ नम्बरको उडानबाट दोहा गएका उक्त जहाज इञ्जिनमा समस्या आएपछि दोहामै थन्किएको हो ।
दोहामा अवतरणपश्चात पार्किङ गर्ने क्रममा विमानको एउटा इञ्जिनमा प्राविधिक समस्या देखिएको निगमको भनाइ छ ।
निगमका अनुसार यो जहाजमा देखिएको उक्त समस्याको थप निरीक्षण गर्दा दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टीमले बायाँतर्फको इञ्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेको थियो ।
उक्त समस्या समाधान गर्न जहाजको इञ्जिन नै मर्मत गर्नुपर्ने निगमले जानकारी दिएको छ । इञ्जिन मर्मत गर्दा अर्को इञ्जिन भाडामा लिएर चलाउनुपर्ने हुन्छ ।
यसका लागि मासिक करीब एकदेखि डेढ करोड रुपैयाँ खर्च हुने भएकोले निगम बोर्डले नै उक्त खर्चका लागि स्वीकृति दिनुपर्ने निगमका एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।
निगमको बोर्ड बैठक दुई महिनादेखि बस्न नसकेका कारण यो जहाज तुरुन्तै मर्मत गरेर ल्याउनुपर्ने भएपनि निगमको गैरजिम्मेवारीका कारण जहाज नौ दिनदेखि थन्किन पुगेको पनि निगमकै अधिकारी बताउँछन् ।
निगम व्यवस्थापनले भने यो जहाजको इञ्जिनबारे उत्पादनकर्ता पीडब्लु/आईएईसँग आवश्यक परामर्श लिइरहेको दाबी गरेको छ ।
उक्त परामर्शबाट पनि इञ्जिनलाई निकालेर मर्मत गर्न सुझाव गर्नुपर्ने उल्लेख छ ।
निगम व्यवस्थापनले भने यो जहाज जतिसक्दो छिटो मर्मत गरेर उडानयोग्य बनाउने जानकारी दिएको छ ।
निगमका अनुसार कर्मचारी आन्दोलनका कारण लामो समयदेखि बोर्ड बैठक बस्न नसकेको हो । दुई दिनअगाडि बोर्ड बैठक बोलाएको भएपनि पछि सदस्यहरूलाई सूचना दिएर स्थगित गरिएको थियो ।
अर्थ मन्त्रालयको प्रतिनिधि अनुपस्थित हुने र पर्यटन मन्त्रालयको प्रतिनिधि तोकिन नसकेकाले निर्णय लिनका लागि बहुमत नपुग्ने भन्दै बैठक स्थगित गरिएको स्रोतले जनायो ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने निगमले आवश्यकता अनुसार बोर्ड बैठक बोलाइरहेको बताए ।
उनले निगमको जहाज उडाउन आफूहरू प्रयासरत रहेको र प्राविधिक समस्या आएको जहाज जतिसक्दो छिटो उडाउन आफूहरू प्रतिबद्ध रहेको पनि बताए ।
एक वाइडबडी कोलम्बोमै
निगमको अन्तर्राष्ट्रिय उडानको अर्को एउटा ठूलो जहाज पनि श्रीलंकाको कोलम्बोमै रहेको छ । नियमित मर्मतका लागि १७ पुसमा कोलम्बो गएको उक्त जहाज २५ पुसमा मात्रै काठमाडौं आउने भएको छ ।
निगमका अनुसार निगमसँग भएको अन्तर्राष्ट्रिय उडानको चारवटा जहाजमध्ये दुईवटा थन्किएकाले दुईवटा बाट उडान गर्नुपर्दा उडान व्यवस्थापन मिलाउन समस्या भएको छ ।
यसअघि निगमकै एक वाइडबडी ९ एन एएलवाई कल साइनको ए ३३० जहाज जहाज १३ पुसमा काठमाडौंबाट नारिता गएको थियो ।
उक्त जहाज नारितामै थन्किएपछि कोलम्बोबाट सामान मगाएर आवश्यक मर्मतपछि १५ पुसमा काठमाडौं आएको थियो ।