
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् ।
केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् ।
मन्त्रीले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न नभए, कानूनअनुसार कारबाही हुने बताएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिइन् । मन्त्रीसँगै अनुगमनमा शर्मा पनि सहभागी थिइन् ।
वार्तामार्फत् समस्या समाधान गर्न र कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न मन्त्रीले भनेपछि चिकित्सा शिक्षा आयोगका कारण आफूहरूलाई समस्या परेको कलेज सञ्चालकले बताएका छन् ।
विद्यार्थीको आन्दोलन र शुल्कको विषयको विवाद समाधानको लागि शुक्रवार विहान १० बजे वार्तामा बस्ने तय भएको शर्माले जानकारी दिइन् ।