
पुस १९ को हेरिटेज गार्डेन बैठकबाट पदाधिकारी निर्वाचित नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोधियो अब पदाधिकारीको चयन कहिले ?
प्रचण्डले स्पष्ट र सिधा जवाफ दिए, ‘वर्षमान पुन नेपाल फर्किएपछि ।’
नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक पुस १९ मा सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा बोलाइएको थियो ।
उक्त बैठकले माओवादी केन्द्रको पदाधिकारी चयन गर्न सक्ने भन्दै माओवादी कार्यकर्ताले चासोपूर्वक लिएका थिए ।
बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित गर्यो । त्यसपछि बैठकको अध्यक्षता गरेका प्रचण्डले पुस २५ सम्मका लागि बैठक स्थगित गरिदिए ।
त्यसदिन प्रचण्डले भनेका थिए, ‘वर्षमान पुन र ओनसरी घर्ती उहाँहरू पार्टीको सिनियर नेता हो । उहाँहरू अहिले उपचारको लागि विदेशमा हुनुहुन्छ । भोलि (पुस २०) डिस्चार्ज भएर नेपाल आउने कुरो छ । उहाँहरूको पनि सहभागितामा नै पदाधिकारी चयन हुन्छ ।’
वर्षमानलाई जटिल प्रकृतिको जण्डिसले सताएका कारण उनी अहिले उपचारका लागि चीनमा छन् । शुरूमा उनी ललितपुरको सुमेरू अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ उनको स्वास्थ्यमा खासै सुधार नभएपछि थाइल्याण्ड बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।

त्यहाँ पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स हस्पिटल लगिएको थियो । अहिले भने उनको स्वास्थ्यमा केही सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
आठौं महाधिवेशनपछि पार्टीको नेतृत्वदायी जिम्मेवारी बाडफाँटको लागि प्रचण्डले पार्टीभित्र प्रभावशाली पकड कायम गरेका नेता वर्षमानलाई पर्खिरहेका छन् ।
राष्ट्रिय सम्मेलनलाई निमेषभरमै महाधिवेशनमा परिणत गरेर नेतृत्व निर्वाचनको दौडमा होमिएका प्रचण्डको बेगमा वर्षमानले ‘ब्रेक’ लगाइदिए ।
माओवादी केन्द्रमा प्रतापी मानिएका प्रचण्डको बेगलाई पनि रोक्न सक्ने वर्षमानको क्षमता के हो भन्ने बुझ्न उनको पार्टीभित्रको पकड र विगतको राजनीतिक विरासतलाई नियाल्नुपर्ने हुन्छ ।
माओवादी केन्द्रमा वर्षमान पुनलाई प्रचण्डको उत्तराधिकारीको रुपमा समेत व्याख्या गर्ने गरिएको छ । यसको खास कारण भनेकै पार्टीभित्र पुनले विस्तार गरेको जरैसम्मको पकड हो ।
त्यसबाहेक माओवादी केन्द्रमा प्रचण्डपछिका चतुर नेताका रूपमा समेत माओवादी नेता कार्यकर्ताले अर्थ्याउने गर्छन् ।
एउटा सन्दर्भ चर्चा गरौं– २०७२ मा संविधान जारी भएपछि एमाले र माओवादी गठबन्धनमा सरकार बनेको थियो । २०७३ को वैशाखमा सरकारमा खटपट आयो । माओवादीले कांग्रेससँग गठबन्धन गर्ने प्रयास गरेको थियो ।
त्यसको तारतम्य वर्षमान पुन लगायतका नेताले मिलाएका थिए । तर, तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपालले बन्न लागेको माओवादी–कांग्रेस गठबन्धन असफल बनाइदिए । त्यसबेला प्रचण्डलाई बजेटपछि प्रधानमन्त्री दिने आश्वासन नेपालले दिएका थिए । तर, पार्टी अध्यक्ष ओली प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार भएनन् ।
त्यसपछि वर्षमान पुन सक्रिय भए । कांग्रेस नेता विमलेन्द्र निधिलगायतको सहयोगमा फेरि कांग्रेस–माओवादी गठबन्धनको तारतम्य बन्यो । माओवादीले एमालेसँगको साथ छाड्यो र २० साउन २०७३ मा प्रचण्ड प्रधानमन्त्री बने ।
दोस्रो पटक प्रचण्डलाई सिंहदरबारको बागडोर दिलाउन वर्षमानको महत्त्वपूर्ण भूमिका रह्यो ।

२०७४ को निर्वाचनको बेला भने माओवादीले कांग्रेस र एमाले दुवैसँग चुनावी तालमेलको छलफल चलायो । कांग्रेससँग वर्षमान पुनले छलफल गरे । एमालेसँगको संवादमा जनार्दन शर्मा जुटे ।
वर्षमानलाई कांग्रेसले ३० सिटमा तालमेल गर्न सकिने बताए, एमालेले भने ४० सिटको आश्वासन दियो । अन्ततः २०७४ को संघीय चुनावमा एमाले–माओवादीले एउटै घोषणा पत्रमा देशव्यापी चुनाव लडे । दुई पार्टी एकीकरणको छलफल चल्यो । जनार्दन एमालेसँग एकीकरण पक्षमा थिए भने वर्षमान विपक्षमा ।
त्यसबेला आफ्नै पार्टी बलियो बनाउनुपर्ने बरू गठबन्धनमा सरकार चलाउनुपर्नेे तर्क वर्षमानको हुने गरेको माओवादी केन्द्रका नेताहरू सम्झन्छन् ।
३ जेठ २०७५ मा एकीकृत भएका एमाले र माओवादी २३ फागुन २०७७ मा पूर्ववत् अवस्थामा फर्किए । एमाले र माओवादीको एकता टिक्न सकेन । यसबेला फेरि वर्षमान सही देखिए ।
नेकपाबाट विभाजित भएपछि माओवादी केन्द्रले लामो समय संगठन पुनर्जीवित गर्न सकेन । करीब ६ महिनापछि तल्लो तहसम्म पार्टीको संरचना तयार पार्ने भनेर माओवादी केन्द्रले विभाग गठन गर्यो ।
प्रचण्डले वर्षमानलाई योजना तथा अर्थ विभाग प्रमुख बनाए र केन्द्रीय कार्यालयको इन्चार्जको जिम्मेवारी तोकिदिए । त्यसबेला प्रचण्डले वर्षमानलाई आफ्नो उत्तराधिकारीको रूपमा तयार गरिरहेको चर्चा माओवादीभित्र थियो ।
पार्टीको संगठन विस्तारमा देशव्यापी पुग्ने कार्यकर्तासँग पनि राम्रोसँग भिजेका वर्षमानको पार्टीभित्रको शक्ति प्रचण्डले भेउ पाइसकेका थिए ।
माओवादी केन्द्रबाट शीर्ष नेताहरू बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेलहरू बाहिरिएपछि प्रचण्डको निकट सहयोग भएर वर्षमानले हेडक्वार्टरमा कमाण्ड गरे । त्यसयता, प्रचण्डको सहयोगी र विश्वासपात्र भएर उनले काम गरिरहेका थिए ।
५० वर्ष उमेरका वर्षमान छोटो अवधिमा पार्टी र सरकारमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने नेतामध्येमा पर्छन् ।
२०२८ मा रोल्पाको माडिचौरमा जन्मिएका वर्षमान १४ वर्षकै उमेरमा वामपन्थी विद्यार्थी राजनीतिमा लागेका थिए । उनको विद्यालय शिक्षा र राजनीति दुवैका गुरू कृष्णबहादुर महरा हुन् । उनलाई महराले विद्यालयमा विज्ञान र गणित पढाए भने राजनीतिक दर्शन पनि सिकाए ।
२०५३ सालमा रोल्पा जिल्ला सेक्रेटरी भएका उनी २०५५ सालमा केन्द्रीय सदस्य भएपछि सैन्य र राजनीतिक नेतृत्वमा उदाएका थिए । उनी २०५७ सालमा माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्य र २०५९ सालमा पोलिटब्यूरो सदस्य भएका थिए । पोलिटब्यूरोमा पुगेपछि उनी सैन्य क्षेत्रको डेपुटी कमाण्डर भए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि झलनाथ खनालको क्याबिनेटमा उनी ३९ वर्षकै उमेरमा शान्तिमन्त्री बनेका थिए । डा. बाबुराम भट्टराईको क्याबिनेटमा वर्षमान अर्थमन्त्री बन्दा ‘बन्दुक चलाउनेले कसरी अर्थ मन्त्रालय चलाउँछ’ भनेर उनको आलोचना हुने गरेको थियो । तर, उनले अर्थ मन्त्रालयको काममा प्रश्न आउने ठाउँ दिएनन् ।
अहिले अर्थतन्त्रको राम्रो ज्ञान भएको पूर्वअर्थमन्त्रीको रूपमा वर्षमानलाई लिने गरिन्छ ।
वर्षमान आफू त पटकपटक राजकीय जिम्मेवारीमा रहे उनले श्रीमती ओनसरी घर्तीलाई पनि विशिष्ट पदमा पुर्याउन सफल भए । २०६८ मा झलनाथ खनाल क्याबिनेटमै घर्ती युवा तथा खेलकुद मन्त्री भएकी थिइन् ।
संविधान सभाको दोस्रो कार्यकालमा उपसभामुख भएकी घर्ती २०७२ असोजदेखि २०७४ माघसम्म सभामुखसमेत भइन् । राजनीतिक पोर्टफोलियोमा वर्षमानभन्दा ओनसरी माथिल्लो तहमा रहेर काम गरिन् ।
२०७४ को निर्वाचन जितेपछि नेकपाले बनाएको केपी ओली नेतृत्वको सरकारमा वर्षमानले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसबेला ओलीसँग निकट सम्बन्ध बनाएको भनेर माओवादी निकट नेताहरू बताउने गर्थे ।
माथिल्लो तहको राजनीतिक जिम्मेवारीमा रहेर काम गरेका दुवै श्रीमान–श्रीमतीको प्रभाव पार्टीमा स्वाभाविक भयो । त्यसले उनीहरूलाई पार्टीको आधार इलाकासम्म स्थापित गराउन सहयोग पुग्यो ।
माओवादी केन्द्रले ८ औं महाधिवेशनबाट पदाधिकारीसहितको पार्टी संरचना बनाउने तयारी गरेपछि वर्षमानलाई महासचिवको दाबेदारका रूपमा हेरिएको थियो । उनले पनि आफू निकट नेता र कार्यकर्तासँग पार्टीमा महासचिवको जिम्मेवारी लिएर कमाण्ड चलाउने बताउँदै आएका थिए ।
वर्षमानको पार्टीभित्रको पकड र राजनीतिक चातुर्यता बुझेका प्रचण्डले उनको अनुपस्थितिमा पार्टीको पदाधिकारी टुंगो लगाउन चाहेनन् । वर्षमानको सहभागिताकै लागि अनेकौँ दबाबका बाबजुद पनि प्रचण्ड एक हप्ताका लागि केन्द्रीय कमिटीको बैठक स्थगित गरेर गृहकार्यमा जुटेका छन् ।