
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीको सम्बन्ध पछिल्लो समय निकै चिसिएको छ ।
यहाँसम्म कि मन्त्री आलेले सार्वजनिक मञ्चबाटै रेग्मीविरुद्ध आक्रोश पोखिरहेका छन् ।
पुस १६ गते पर्यटन बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री आलेले सीईओ रेग्मीलाई ‘साँढे’ भनेको भिडियो क्लिप सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । आलेले भनेका थिए, ‘लण्डन पुगेका बेला मन्त्रीज्यू रिसाउनुभयो, जाऊँ रक्सी पिउन भन्ने साँढेबाट पर्यटन बोर्ड चल्छ ?’
सोही दिन दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा आले फेरि सीईओ रेग्मीमाथि खनिए । ‘पर्यटन बोर्डले निलम्बन गरेको थियो । अदालतबाट स्टे अर्डर ल्याएछ, पूरै मुद्दा जिते झैँ भोज गरिरहेको छ ।’
मन्त्री आलेले रेग्मीको सर्टिफिकेटमाथि पनि प्रश्न उठाए ।
‘धनञ्जय रेग्मी भन्ने व्यक्तिले त सर्टिफिकेट पनि चोरेर ल्याएको रहेछ,’ आलेले भनेका थिए ।
जापानको होक्काइडो युनिभर्सिटीबाट पीएचडी गरेका, त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा सन् २००९ मा जियोलोजीमा उत्कृष्ट विद्यार्थीको उपाधि पाएका तथा सन् २०१९ मा एक वर्ष बूढानीलकण्ठ स्कूलमा अध्यापन समेत गरेका रेग्मीको सर्टिफिकेट हेरेरै मन्त्री आलेले त्यसो भनेका हुन् कि आक्रोश मात्र पोखेका हुन्, त्यो उनैले जानून् ।
त्यसो त सीईओ रेग्मी पनि विवादमा नतानिएका भने हैनन् । बेलायतबाट फर्किने क्रममा ह्वीस्की ल्याउन नपाएको निहुँमा त्रिभुवन विमानस्थलका कर्मचारीलाई हातपात गरेको विषयमा रेग्मीको चौतर्फी विरोध भएको थियो ।
सोही प्रकरणमा स्पष्टीकरण सोधेर सरकारले उनलाई पदमुक्त गरेको थियो । यद्यपि अहिले सर्वोच्चको स्टे अर्डरका कारण रेग्मी पदमा बहाल छन् । मुद्दा विचाराधीन रहेकाले उनीमाथिको कारवाही के हुने भन्ने टुंगो लागेको छैन ।
खैर, बाँकी कुरा छाडेर यहाँ मन्त्री आले र सीईओ रेग्मीको तिक्ततापूर्ण सम्बन्धका विषयमा नै चर्चा गरौं :
कसरी बिग्रियो सम्बन्ध ?
पर्यटन मन्त्री प्रेम आले र पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीको विवादको खास कारण बुझ्न लण्डन पुग्नुपर्छ । अर्थात्, १५ देखि १७ कात्तिकसम्म बेलायतमा आयोजित विश्व ट्राभल मार्ट (डब्लूटीएम) का अवसरमा भएको मन्त्री आलेको बेलायत भ्रमण र त्यससँग जोडिएका प्रसंग खोतल्नुपर्छ ।
आले मन्त्री नियुक्त भएर आएकै भोलिपल्ट पर्यटन मन्त्रालय मातहतका निकायको ब्रिफिङ थियो । दिउँसो १ बजे पर्यटन मन्त्रालयले ब्रिफिङका लागि बोलाएकै समयमा सीईओ रेग्मीले विभिन्न देशका राजदूतहरूसँग मिटिङ तय गरेका रहेछन् ।
रेग्मीले मन्त्रीलाई स्वागत गरेर मन्त्रालय प्रवेश गराउने बेलामै बिफ्रिङमा आफू बस्न नपाउने जानकारी गराएका रहेछन् । तर आलेले ‘त्यस्तो हुँदैन’ भनेका थिए रे ।
मन्त्रीले जसरी पनि सहभागी हुनैपर्ने आशय व्यक्त गरेपछि रेग्मी सहभागी त भए, तर पर्यटन सचिव यादव कोइरालालाई भनेर पहिलो ब्रिफिङ गरी तुरुन्तै बाहिरिए ।
जुन कुरा आलेलाई मन परेको रहेनछ ।
आले–रेग्मी सम्बन्धमा त्यहाँबाट शुरू भएको खटपट लण्डन पुगेर झाँगियो ।
आलेसँग घुलमिल हुन नपाउँदै डब्लुटीएममा जानु परेकाले रेग्मी मन्त्री र सचिव दुवैलाई निम्तो दिएर ११ कात्तिकमा लण्डन उडे । त्यसको दुई दिनपछि मात्र आले लण्डन प्रस्थान गरे ।
स्रोतका अनुसार त्यतिबेला लण्डनमा आगन्तुकहरूले ४८ घण्टा होटल क्वारेन्टीनमा बस्नुपर्ने नियम थियो । एकदिन ढिला गरेकाले मन्त्री आले पहिलो दिनको मार्टमा पुग्न भ्याएनन् ।
क्वारेन्टीन सकेर दोस्रो दिन विश्व पर्यटन मेला शुरू हुने स्थानमा बिहान १० बजे नै पुग्नुपर्ने थियो, तर आले पुग्न भ्याएनन् ।
मन्त्री आलेले प्रयोग गर्ने गाडी दूतावासकै डेपुटी कन्ट्री म्यानेजरको बच्चा विद्यालय छाड्न गएका कारण आलेलाई निस्कन ढिला भएको स्रोतको दाबी छ ।
सोही कारण मन्त्री आले निर्धारित समयभन्दा ४५ मिनेट ढिला गरी मेला स्थलमा पुगेका थिए । मेला स्थलमा पुगेपछि आलेले आफूले भाषण गर्न पाउनुपर्ने माग गरे ।
विश्वकै ठूलो ट्राभल मेला भएकाले १८९ मुलुकका ५१ हजार व्यावसायिक ट्राभल इन्डस्ट्री सहभागी थिए । उक्त मेलामा मन्त्रीले सम्बोधन गर्न पूर्व तालिकामा नै उल्लेख हुनुपर्छ । तर, आलेले भाषण गर्ने शेड्युल थिएन ।
आफूलाई भाषण गर्ने समय नमिलाएको भन्दै आले रेग्मीसँग थप रिसाए ।
सरकारले वार्षिक ५० हजार डलर तिरेर सदस्यता नवीकरण गर्ने यो मेलामा आधिकारीक चाँजोपाँजो पर्यटन मन्त्रालयले नै मिलाउनुपर्ने बोर्डको दाबी छ ।
उक्त मेलामा पर्यटन सचिव यादवप्रसाद कोइराला पनि सहभागी थिए ।
त्यतिबेला रेग्मीले भाषण पूर्वनिर्धारित हुने भन्दै समय मिलाउन नसकिने जवाफ आलेलाई दिएको स्रोतको दाबी छ ।
बरु रेग्मीले प्यानल डिस्कसनमा हात उठाएर आफ्नो कुरा राख्न पाउने अवसर उपलब्ध हुन भन्दै त्यसैको सदुपयोग गर्न भनेका थिए । तर, आलेले प्यानल डिस्कसनमा कुरा राखेनन् ।
उक्त दिन मेलाको पहिलो सत्र सकिएपनि नेपाली पर्यटन व्यवसायीले मन्त्रीसँग फोटो खिच्न खोजेका थिए, तर उनले फोटो खिच्न अस्वीकार गरिदिए ।
आले रिसाएर कार्यक्रमस्थलबाटै बाहिरिएको स्रोतका दाबी छ ।
स्रोतका अनुसार, पर्यटन बोर्डका प्रबन्धक लक्ष्मण गौतमले देशको इज्जत जोडिएको विषय भन्दै फकाएर मन्त्री आलेलाई आधा घण्टापछि कार्यक्रम स्थलमा फर्काएका थिए ।
त्यसपछि फोटो सेसनमा सहभागी भएका आले नेपालले पाएको ‘बेस्ट रेस्पोन्स टू दी प्यान्डेमिक’ अवार्ड आफैँले थाप्न पाएपछि प्रफुल्ल बनेका थिए ।
अवार्ड पाएपछि धन्यवाद मन्तव्य दिनका लागि रेग्मीले आलेलाई आग्रह गरेका रहेछन् । आलेले बोल्दिनँ भनेपछि रेग्मी आफैंले धन्यवाद मन्तव्य दिए ।
लण्डनबाटै फर्किँदा हो सीईओ रेग्मी विमानस्थलमा मदिराको लफडामा परेको ।
'बाइ वान गेट टु' अफरमा लिएको २ बोतल र त्यसबापत पाएको ४ बोतल गरी ६ बोतल ह्विस्की विना भन्सार छिराउन खोज्दा रेग्मीले विमानस्थलका कर्मचारीलाई दुर्व्यवहार गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
निजी क्षेत्रका पर्यटन व्यवसायी समेत गएकाले बाँडेर लिने सहमतिमा खरिद गरिएको मदिरा नेपाल भित्रिने क्रममा आफूसँग मात्रै पर्दा तनाव भएको रेग्मीले निकटस्थहरूसँग बताउने गरेका छन् ।
मदिराको लफडापछि रेग्मीले मन्त्री र सचिवसँग कुरा गर्न खोजेका रहेछन् । तर, आले उनीसँग कुरा गर्ने मूडमा थिएनन् । बरु उनलाई लण्डन प्रकरणको बदला लिने मौका मिल्यो ।
मन्त्री आलेले सचिवमार्फत रेग्मीलाई स्पष्टीकरण सोधे ।
यसबीचमा लण्डन जाँदाको हवाई टिकट बोर्डले नबेहोरेको र पर्यटन बोर्ड अन्तर्गतको दिगो पर्यटन विकास आयोजना (एसटीडीपी)मा आफूले भनेको मान्छेलाई नियुक्त नगरेकोमा मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मी पनि सीईओ रेग्मीसँग असन्तुष्ट बनेको स्रोत बताउँछ ।
पछि महेश्वर न्यौपाने पर्यटन सचिव बनेर आए । रेग्मीलाई जसरी पनि हटाउने निचोडमा आले पुगिसकेका थिए । उन (रेग्मी)लाई राजीनामाको दबाब आउन थाल्यो ।
त्यसपछि मंसिर १६ मा पोखरामा आयोजित एक कार्यक्रममा पनि यी दुईबीचको तिक्तता पोखियो ।
रेग्मीसँग मञ्च शेयर गर्न आलेले अस्वीकार गरिदिए । मन्त्रीको निर्देशनमा रेग्मीलाई मञ्चबाट निस्किन आग्रह गरियो । त्यसपछि रेग्मी कार्यक्रम छाडेर काठमाडौं फर्किए ।
रेग्मीमाथि राजीनामाको दबाब बढिरहेको थियो । तर उनले आफू खुला प्रतिस्पर्धाबाट आएको भन्दै राजीनामा दिन अस्वीकार गरिरहे ।
सीईओ रेग्मीले बोर्डमा आफ्नै कार्यकक्ष बनाउँदा खरिद ऐन छल्न २९ लाखको कामलाई आठ टुक्रा बनाएर काम गर्न लगाएको आरोप लागेको थियो ।
उनको आचरण र सोही विषयलाई जोडेर मन्त्रीकै दबाबमा सचिवले सीईओ रेग्मी हटाउन पर्यटन बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा २ पुसमा एक छानबिन समिति गठन गरियो ।
छानबिनलाई प्रभावित पार्न सक्ने भन्दै पर्यटन बोर्डको सञ्चालक समितिले रेग्मीलाई निलम्बन समेत गर्यो ।
त्यसविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । सर्वोच्चले पुस १४ गते रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अदालतको मुद्दा विचाराधीन नै छ भने उनीमाथिको छानबिन पनि टुंगिएको छैन ।
पर्यटन बोर्डले रेग्मीको हालसम्मको (दुई वर्षे) कार्यकालको समीक्षा, उनको आचरण र बोर्डभित्र आफ्नै कार्यकक्ष बनाउँदा आर्थिक अनियमितता गरेको सहितको विषयमा छानबिन गरिरहेको छ ।
यो प्रकरणको अन्त्य कहाँ पुगेर हुन्छ, त्यो भने भविष्यकै गर्भमा छ ।