
प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ५ महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ ।
सो अवधिमा कूल ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।