११ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

राष्ट्र बैंकको रिपोर्टले देखायो खराब आर्थिक स्थिति

राष्ट्र बैंकको रिपोर्टले देखायो खराब आर्थिक स्थिति

नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले देशको वर्तमान आर्थिक अवस्था खराब रहेको देखाएको छ । आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको समग्र आर्थिक अवस्था विश्लेषण गरेको राष्ट्र बैंकको तथ्यांकमा आयातमा वृद्धि भएको, विप्रेषण घटेको, चालु खाता घाटामा रहेको, शोधनान्तर स्थिति समेत घाटामा रहेको उल्लेख गरिएको छ । यस्तै महँगी बढेको, पुँजीगत खर्चमा कमी आएको, राजश्व संकलनमा गिरावट आएको जस्ता तथ्य रिपोर्टमा देखिएको छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ भने आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।

यसैगरी शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा हुँदा  कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ । यस्तै संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ । राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३०.१ प्रतिशत छ । देशको वर्तमन आर्थिक स्थितिबारेको यो संक्षित विवरण सहित लोकान्तर डटकमको नियमित बुलेटिन ‘लोकान्तर राउण्ड अप’ मा स्वागत छ ।

अब पछिल्लो २४ घण्टाको समाचार संक्षेपमाः
००००
पछिल्लो २४ घन्टामा मुलुकभर ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार ८१ जनामा नमुना परीक्षण गर्दा आरटीजेन तथा पीसीआरबाट २ हजार ९ सय २२ जना र एन्टीजेनबाट ६ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै मुलुकभर पीसीआर परीक्षणमार्फत कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ४१ हजार २९७ र एन्टीजेनमार्फत पुष्टि हुनेको संख्या ९९ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक गराएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रधानमन्त्री निवासमा कार्यरत केही कर्मचारीमा कोरोना देखिएपछि देउवाले बिहीबार पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार पनि देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि पीसीआर गराएका थिए ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीको समयमा भएको चार्टर्ड उडानको अनियमितताका सम्बन्धमा छानबिन समिति गठन गरेका छन् । पर्यटनमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
००००
राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा भर्ना भएका स्वास्थ्य कर्मी तथा कर्मचारीहरूलाई माघदेखि ३ महिनासम्म समय थप्न सकिने  जनाएको छ ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए ।
००००
धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् ।
बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
००००
बिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । एनबी बैंक सञ्चालक समितिको बिहीवार बसेको बैठकले नबिलसँग मर्जरमा जाने निर्णय गरेपछि दुवै बैंकले मर्जर सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् ।
बिहीबारै बसेको नबिल बैंकको सञ्चालक समितिले पनि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको नबिल बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्