०३ साउन २०८३, आइतबार
कांग्रेसका 'एक हल' महामन्त्रीको सम्बन्धको चर्चा

गगन-विश्वप्रकाश : संघर्ष कि सहकार्य ?

माघ ३, २०७८
गगन-विश्वप्रकाश : संघर्ष कि सहकार्य ?

कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेताहरूलाई पछि पारेर महामन्त्री पद जीतेपछि चुलिएको गगन थापा र विश्वप्रकाश शर्माको चर्चा अझै सेलाएको छैन । 

पार्टीका पुस्तान्तरण र रूपान्तरणको पक्षमा वकालत गर्दै आएका यी दुई युवा नेता कांग्रेसको नेतृत्वमा स्थापित भएका छन् । यी दुई महामन्त्रीको युवा अनुहार हेरेर नै कांग्रेसीमाझ टिप्पणी हुने गरेको छ– पार्टीको युवावय फर्किएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काँधमा पार्टीलाई रूपान्तरित गर्ने र पुस्तान्तरणको एजेण्डालाई संस्थागत गरी फोहोरी राजनीतिमा ‘ब्रुमर’ चलाउने गह्रुङ्गो जिम्मेवारी आइपुगेको छ । 

कांग्रेसमा यसअघि एक जना निर्वाचित र एक जना सभापतिले मनोनित गर्ने गरी दुईजना महामन्त्री हुन्थे । तर, अहिले त्यस्तो व्यवस्था छैन । दुवै महामन्त्री महाधिवेशनबाट निर्वाचित हुन् । 

कांग्रेसको विधानअनुसार, महामन्त्री पद कांग्रेसका लागि कुनै इञ्जिनको स्टार्टरजस्तै हो । महामन्त्री सक्रिय हुँदा पार्टी चलायमान हुन्छ, नभए अस्तित्वविहीनजस्तो देखिन्छ । 

तर, आगामी चार वर्ष पार्टी गतिशील बनाउन दुई महामन्त्रीले सहकार्य गर्छन् कि प्रतिस्पर्धा मात्रै भन्ने कुरा कांग्रेसभित्र व्यापक चासो पाइन्छ ।

महामन्त्रीको कार्यकालमा गगन र विश्वप्रकाश मिल्छन् कि झगडा गर्छन् भन्ने आंकलन गर्न उनीहरूको राजनीतिक पृष्ठभूमि नियाल्नुपर्ने हुन्छ । 

झापा जन्मिएका विश्वप्रकाश शर्मा ५० वर्षको भए । उनी नेपाल विद्यार्थी संघको सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् । काठमाडौंका रैथाने गगन थापा ४५ वर्षका भए । उनी पनि नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै पार्टी राजनीतिमा उदाएका हुन् । 

थापा र शर्मा दुवैको राजनीतिक पृष्ठभूमि हेर्दा नयाँ राजनीतिक प्रयोग गर्न नहिच्किचाउने नेताको रूपमा चित्रित हुन्छन् । 

थिति बसाल्न खोज्ने र राजनीतिलाई संस्कारयुक्त बनाउनुपर्ने तर्क विश्वप्रकाशको हुने गरेको छ भने गगन थापाले पार्टीभित्र विधि र पद्धतिका कुरा जोडतोडले उठाउँदै आएका छन् । 

राजनीतिमा थापा र शर्माको संघर्षको कथा 

२०५७ सालमा विश्वप्रकाश शर्मा नेविसंघको सभापति हुँदा गगन थापा त्यसबेलाको मध्यमाञ्चल विकास क्षेत्र कमिटी उपाध्यक्ष भएका थिए । शर्माको कार्यकालपछि गुरूराज घिमिरे नेपाल विद्यार्थी संघको सभापति भए । घिमिरेको कार्यकालमा गगन थापा महामन्त्री बने ।

नेपाल विद्यार्थी संघको सभापतिबाट बिदा भएपछि विश्वप्रकाश झापा जिल्लाबाट पार्टी राजनीतिमा सक्रिय भए । २०६८ मा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा शर्मा जिल्ला सभापतिको उम्मेदवार हुन गए । तर, चुनाव हारे । गगन थापा भने केन्द्रीय सदस्यको उम्मेदवार भए र सर्वाधिक मत ल्याएर जीते ।

विद्यार्थी राजनीतिमा अगाडि रहेका विश्वप्रकाशलाई १२ औं महाधिवेशनबाट गगनले पछाडि पारे । 

विश्वप्रकाश शर्माले निरन्तर हारै हारको नमीठो राजनीति यात्रापछि मात्रै जीतको रसास्वादन गर्न पाएका हुन् । जिल्ला सभापतिमा हारेपछि उनले २०७० को निर्वाचनमा संविधान सभाको चुनाव पनि हारेका थिए । २०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले जीत निकाल्न सकेनन् । 

जिल्लामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पेलानमा परेका शर्मालाई लामो समयसम्म अवरोध नै अवरोध सिर्जना गरियो । २०६८ मा जिल्ला सभापतिमा टक्कर गरेका उद्धव थापा र विश्वप्रकाश शर्मा सधैँ आमुन्ने–सामुन्ने भइरहे । 

२०७२ मा भएको १३ औं महाधिवेशनबाट भने शर्मा कांग्रेसको केन्द्रीय सदस्य भए । 

यता, गगन थापाको राजनीतिक पृष्ठभूमि भने जीत नै जीतको रोमाञ्चकताले सजिएको छ । 

२०६२/६३ को जनआन्दोलनका बेला पार्टीले राजतन्त्रको विकल्प नखोज्दै गणतन्त्रको नारा लगाएर गगन थापाले चर्चा कमाएका थिए । 

आन्दोलनका बेला राजतन्त्रविरूद्ध जोसिला नारा लगाउँदै गरेको अवस्थामा प्रदर्शनको अघिल्लो मोर्चामा थापालाई भेटिन्थ्यो ।

सार्वजनिक खपत हुने विषयलाई राम्रोसँग खुट्याउन सक्ने क्षमताका थापालाई केन्द्रीय सदस्यमा आउन धेरै कठिन भएन । उनी उम्मेदवार बनेका सबै संसदीय निर्वाचनमा जीत निकालेका छन् । 

२०६४ सालमा संविधान सभामा समानुपातिक सूचीमा रहेर संविधानसभा प्रवेश गरेका थापाले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा आफ्नै पार्टीका बागी उम्मेदवारका बीच जीत निकालेका थिए । 

त्यसबेला माओवादी नेता नन्दबहादुर पुनलाई पराजित गरेर उनी संविधान सभा सदस्य बनेका थिए । गगन थापाको राजनीतिक उचाई त्यसपछि नै चुलिन थालेको हो ।

२०७२ को १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका थापालाई शशांक कोइरालाले पछि पारिदिए । तर, २०७४ मा भएको संसदीय निर्वाचनमा एमाले नेता राजन भट्टराईलाई पराजित गरेर थापाले चुनावी नतिजा आफ्नो पक्षमा पारे । एमाले माओवादी केन्द्रको गठबन्धन हुँदा पनि थापाले काठमाडौं क्षेत्र नम्बर– ४ बाट प्रतिनिधि सभा सदस्यको सिट सुरक्षित गरेका थिए ।

पार्टीको केन्द्रीय राजनीतिमा विश्वप्रकाश शर्मा एक कार्यकाल केन्द्रीय सदस्य र अहिले महामन्त्रीको भूमिकामा छन् । गगन थापा भने दुई कार्यकाल केन्द्रीय सदस्य भएर अहिले महामन्त्रीको जिम्मेवारीमा छन् । महाधिवेशनमा थापाले शर्माको भन्दा एक हजार मत बढी ल्याएका छन् । थापाले तीन हजार २३ मत पाए भने शर्माले १९ सय ८४ मत पाएका थिए । 

१२ औं महाधिवेशनमा पछाडि छाडिएका विश्वप्रकाशले १४ औं महाधिवेशनमा ‘कमब्याक’ गरे । अहिले थापा र शर्मा राजनीतिक दौडको एउटै ‘मार्किङ लाइन’मा छन् । जहाँबाट उनीहरूको नयाँ उचाइको दौड शुरू हुन्छ र एकले अर्कालाई पछि पार्ने संघर्ष चलिरहने छ ।   

विश्वप्रकाश शर्माले पार्टीमा राजनीतिक उचाइ हासिल गरेको भने १३ औं महाधिवेशनपछि नै हो । महाविधेशन सम्पन्न भएको १८ महिनापछि सभापति शेरबहादुर देउवाले शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिए । २०७४ पुसमा शर्माले पार्टी प्रवक्ताको जिम्मेवारी पाउँदा कांग्रेसले निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनसँग शर्मनाक हार बेहोरेको थियो । 

कांग्रेसका नेता गुरूराज घिमिरे भन्छन्, ‘नेपाल विद्यार्थी संघबाट आएका सबैमा ‘सेन्टिमेन्टल अट्याचमेन्ट’ हुन्छ । तर, ‘वर्किङ अट्याचमेन्ट’ नहुन पनि सक्छ । उहाँहरूको सम्बन्ध शतप्रतिशत राम्रो छ भन्न सकिन्न, उतारचढावपूर्ण नै देखिन्छ ।’

कांग्रेस संस्थापन निकट नेताहरूका अनुसार, गगन थापाले पाइसकेको प्रवक्ताको जिम्मेवारी अन्तिममा शर्माको पोल्टामा पुगेको थियो । थापा र शर्मा दुवैलाई नजिकबाट चिन्ने एकजना नेताका अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले गगन थापालाई पार्टी प्रवक्ताको जिम्मेवारीको पत्र लिन बोलाइसकेका थिए । 

तर, थापा पार्टीभित्र फरक गुटको भएका कारण देउवा खेमाका अरू नेताले उनलाई रूचाएनन् । विशेषगरी, डा. प्रकाशशरण महत, बालकृष्ण खाणले गगन थापालाई पार्टी प्रवक्ता बन्नबाट रोकेका थिए ।

प्रवक्ता नियुक्ति प्रकरणबारे जानकार एक नेता भन्छन्, ‘गगन थापालाई प्रवक्ता नियुक्त गर्न लागेको कुरा महत र खाणले विश्वप्रकाशलाई सुनाइदिए । पार्टी सभापतिलाई पनि फरक गुटको व्यक्तिलाई प्रवक्ता नियुक्त नगर्न दबाब दिए । त्यसमा उनीहरू सफल भए ।’

पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि नै विश्वप्रकाश शर्माले पार्टी राजनीतिमा बलियो स्थान बनाउन सकेका हुन् ।

दुई महामन्त्रीको एकता र संघर्ष

विश्वप्रकाश शर्मा र गगन थापाको उमेर पाँच वर्षले फरक छ तर, उनीहरूको सार्वजनिक छवि र कार्यशैलीमा भने खासै भिन्नता देखिँदैन ।

उनीहरूले उठाउने मुद्दा समान प्रकृतिका हुन्छन् । उनीहरूलाई मन पराउने सर्कल पनि उस्तै प्रकृतिको छ । यी दुई महामन्त्रीबीचमा ‘सेन्टिमेन्टल अट्याचमेन्ट’ देखिन्छ । 

कांग्रेसका नेता गुरूराज घिमिरे भन्छन्, ‘नेपाल विद्यार्थी संघबाट आएका सबैमा ‘सेन्टिमेन्टल अट्याचमेन्ट’ हुन्छ । तर, ‘वर्किङ अट्याचमेन्ट’ नहुन पनि सक्छ । उहाँहरूको सम्बन्ध शतप्रतिशत राम्रो छ भन्न सकिन्न, उतारचढावपूर्ण नै देखिन्छ ।’

शर्माले प्रवक्ताको जिम्मेवारी पाएपछि उनले संस्थापन गुटको पनि वकालत गरे भने थापाले सधैँ संस्थापन गुटलाई प्रश्न गरिरहे ।

१३ औं महाधिवेशन र २०७४ मा पार्टीले नराम्ररी चुनाव हारेपछि कांग्रेसमा डा. चन्द्र भण्डारी लगायतका नेताले युवाहरूको समूह बनाउने सक्रियता देखाए । त्यसबेला कांग्रेसका युवा नेताहरूले पार्टी क्षीण हुँदै गएको र नयाँ ढंगले जानुपर्ने बताउँदै आएको बेला शर्मा भने फरक कित्ता पुगेका थिए । 

त्यसबेलाको शर्माको तर्क स्मरण गर्दै घिमिरे भन्छन्, ‘अब नयाँ ढंगले जानुपर्छ भनेर पार्टी सभापतिलाई सुझाव दिँदा उहाँ (शर्मा) चाहिँ तपाईंहरूले भनेजस्तो बिग्रिसकेको छैन, भन्नुहुन्थ्यो ।’

महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट उम्मेदवार भएका थापा भने महाधिवेशनपछि संस्थापन इतर खेमामा युवा नेताहरूकै समूहमा थिए । त्यसबेला, कांग्रेसका युवा नेताहरूले चुनाव किन हारियो, पार्टीको मत किन बढेन ? पार्टीभित्र आन्तरिक अव्यवस्था किन भयो ? भनेर संस्थापनलाई प्रश्न गरेका थिए ।

‘पुरातन शैलीबाट अगाडि जान सकिँदैन भन्ने हाम्रो तर्क थियो । गगन थापा हामीसँगै थिए’, घिमिरेले भने, ‘उहाँ (शर्मा) डिफेन्ड गर्नुहुन्थ्यो र सभापतिले राम्रै गरिरहनुभएको छ भन्नुहुन्थ्यो ।’

२०७४ मंसिरमा भएको चुनावपछि शर्मा र थापाको सहकार्य शुरू हुन थालेको तर, पुसमा शर्माले प्रवक्ताको जिम्मेवारी पाएपछि उनीहरूबीचको सहकार्य अघि बढ्न नसकेको घिमिरे बताउँछन् । 

थापा र शर्मा दुवैसँग संगत गरेका एक नेता भन्छन्, ‘उनीहरूको व्यक्तिगत सम्बन्ध साह्रै खराब पनि छैन र साह्रै नजिकको पनि होइन ।’ 

महाधिवेशनमा फरक गुट, तर एकअर्का प्रति सद्भाव

१४ औं महाधिवेशनमा सबैभन्दा पहिले शर्माले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए । 

शुरूमा देउवा खेमामै समेटिन सक्ने आशा राखेका शर्मा देउवा प्यानलमा महामन्त्रीमा नअटाउने भएपछि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । 

गगन थापा भने शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार भए । फरक गुटबाट महामन्त्रीको उम्मेदवार भए पनि निर्वाचन प्रचारको क्रममा फिल्डमा दुई उम्मेदवारको सहकार्य देखिन्थ्यो ।

विश्वप्रकाशले प्रतिनिधिसँग ‘एक भोट मलाई एक भोट भाइलाई’ भनेको सुनिन्थ्यो । गगन थापाले पनि विश्वप्रकाशप्रति सद्भाव राखेको देखियो । तर, उनले आफ्नो प्यानलका अर्का उम्मेदवार मीनेन्द्र रिजालका लागि भोट मागे । एकै प्यानल भएकाले त्यो उनको दायित्व पनि थियो । शर्माको प्यानलमा भने महामन्त्रीका अर्का उम्मेदवार नभएकाले उनलाई सजिलो थियो ।

चुनावका क्रममा दुवैले जीत हासिल गरे । उनीहरूले महामन्त्रीको रूपमा सहकार्य गरेको एक महिना पूरा भएको छ । 

अब सहकार्य कि संघर्ष ?

कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन थापाकै शब्दमा भन्दा अब उनीहरू प्रश्न गर्ने होइन उत्तर दिने ठाउँमा छन् । समस्या पहिल्याउने गर्ने होइन, समाधान दिने भूमिकामा छन् ।

महामन्त्रीको कुर्सीसम्मको दौड पूरा गरेका दुवै युवा नेतामा पार्टीको ‘फस्र्ट म्यान’ बन्ने अभिलाषा पनि देखिन्छ । त्यसो हुँदा पार्टीमा उनीहरूले फरक–फरक समूह बनाएर गुट चलाउँछन् कि सहकार्य गर्छन् भन्ने थाहा पाउन ६ महिना पर्खनुपर्ने दुवै नेतासँग काम गरेका झापाका युवा नेता मेदनी सिटौला बताउँछन् । 

कांग्रेसमा अहिले पनि स्पष्ट रूपमा दुई धार छ । एउटा सभापतिले नेतृत्व गरेको र अर्को शेखर कोइरालाले नेतृत्व गरेको । दुवै नेतालाई दुईमध्ये एउटा धार समात्नुपर्ने बाध्यता छ । ‘सँगै उभिए पनि छुट्टाछुट्टै उभिए पनि कसै न कसैसँग उभिनै पर्छ । कोइराला र देउवा भन्ने धार अहिल्यै मेटिइहाल्छ भन्ने छैन’, घिमिरे भन्छन्, ‘अहिल्यै विश्व र गगनको धुरी नै खडा हुन्छ भन्ने कुरा पत्याउन पनि मुश्किल छ ।’

पार्टीभित्र गगन थापासँग असन्तुष्ट पक्ष विश्वप्रकाशसँग जाने र विश्वप्रकाशसँग असन्तुष्ट समूहले गगन थापालाई सघाउने रिले खेल निरन्तर चलिरहनेछ ।

यसैको बलमा दुई नेताले आफ्नो समूहको शिलान्यास गर्न पनि सक्छन् । 

आगामी दिनमा दुई महामन्त्रीले आत्मकेन्द्रित भएर काम गर्छन् कि संस्था केन्द्रित भएर काम गर्छन् भन्ने आधारमा सहकार्य कि संघर्ष भन्ने परिभाषित हुने घिमिरे बताउँछन् ।

‘पार्टीमा पुस्तान्तरणको मुद्दा आंशिकरूपमा सफल भएको छ । पार्टी रूपान्तरणको महत्त्वपूर्ण अभिभारा काँधमा छ’, उनले भने, ‘पार्टीको भद्रगोल व्यवस्थापन भएन, अस्तव्‍यस्तता हटेन, भातृ संस्थाको व्यवस्थापन भएन, न्याय र मूल्यांकनको विधि स्थापित भएन भने त्यसको दोषको भारी त उहाँहरूले आफ्नो थाप्लोमा बोक्नुपर्छ ।’

तर, यो अभिभारामा जिम्मेवारीमा आएको एक महिनामै उनीहरू चुकिसकेका छन्, राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने सन्र्दभमा । प्रदेश कमिटीको सिफारिश हुँदै संसदीय बोर्डले निर्णय गरेर केन्द्रीय समितिमा अनुमोदनका लागि पठाउनुपर्ने प्रक्रिया मिचेर सभापति एक्लैले उम्मेदवार तय गरिदिए । दुई महामन्त्रीले सभापतिले त्यसो नगर्न दबाब दिन सकेनन् ।  

आगामी दिनमा यस्ता विषयमा चुक्न नहुने र महाधिवेशनमा उनीहरूप्रति व्यक्त भएको विश्वासलाई न्याय गर्न पनि उनीहरूबीच सहकार्य हुनुपर्ने घिमिरे बताउँछन् ।

तर, अर्का युवा नेता मेदनी सिटौला भने त्यस्तो सम्भावना अत्यन्तै कम देख्छन् । झापाका सिटौला नेविसंघमा घिमिरे सभापति र गगन थापा महामन्त्री हुँदा उपसभापतिको भूमिकामा थिए । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार भएका उनी विजयी हुन सकेनन् । 

सिटौला भन्छन्, ‘अहिले पनि पार्टी सभापतिले विश्वप्रकाशलाई फेबर गर्छन् जस्तो देखिएको छ । त्यसो हुँदा गगन थापाले स्वभाविक रूपमा प्रश्न उठाउँछन् । यही कारण दुई महामन्त्री बीचमा सहकार्य नहुनसक्छ ।’

अर्कातर्फ, दुई महामन्त्रीको जिम्मेवारी बाँडफाँडकै अवस्थाबाट पनि कटुता बढ्न सक्ने सिटौलाको विश्लेषण छ ।

हुन त थापा र सिटौलाले सिमानामा भारतीय हस्तक्षेपका विरूद्ध पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवालाई संयुक्त रूपमा दबाब दिएका थिए ।

दुवैले सँगै सभापतिलाई भेटेपछि दुवै महामन्त्रीले संयुक्त विज्ञप्ति जारी गरेर कांग्रेसको धारणा बताएका थिए । यसले उनीहरू बीच सहकार्यको संकेत पनि गरेको छ । 

अहिले सहकार्य नै भइहालेछ भने पनि पार्टीको ‘फर्स्ट म्यान’ बन्ने अवस्थामा भने यी दुई नेता फरक कित्तामा उभिने परिस्थितिको पृष्ठभूमि निर्माण भइरहेको छ । सभापति पद एक मात्रै हुने भएकाले महामन्त्रीजस्तो दुवै एकैचोटी सभापति बन्न सम्भव छैन ।

‘दुवै नेता सार्वजनिक खपतको विषय के हुनसक्छ, जनताले के कुरा रुचाउँछन् र हामीले के कुरा उठाउनुपर्छ भन्नेमा बहुत सिपालु छन्’, सिटौला भन्छन्, ‘उनीहरूको समर्थक समूह पनि उस्तै–उस्तै भएको हुँदा त्यस्ता कुरामा उनीहरू मिलेरै जान्छन् ।’

कांग्रेसको विधानअनुसार आगामी महाधिवेशन भएको ६ महिनामा सबै विभागलाई पूर्णता दिनुपर्छ । देउवाको कार्यशैली हेर्दा समयमा विभागले पूर्णता पाउने अवस्था देखिँदैन । 

कांग्रेसका नेताहरू भन्छन्, ‘गगनले यही कुरालाई खरो रूपमा उठाउँछन् । तर, विश्वप्रकाशले सभापतिको बचाउ गर्नसक्छन् । त्यसबेलासम्म दुई नेताको सहकार्य कि संघर्ष भन्नेबारे धेरै कुरा थाहा भइसक्छ ।’

अहिले सहकार्य नै भइहालेछ भने पनि पार्टीको ‘फर्स्ट म्यान’ बन्ने अवस्थामा भने यी दुई नेता फरक कित्तामा उभिने परिस्थितिको पृष्ठभूमि निर्माण भइरहेको छ ।

सभापति पद एक मात्रै हुने भएकाले महामन्त्रीजस्तो दुवै एकैचोटी सभापति बन्न सम्भव छैन ।

फेरि एक जना सभापति बन्ने र अर्कोले तल्लो पदमा रहेर सघाउने अवस्था पनि अहिले एकै साथ महामन्त्रीमा निर्वाचित भएको परिस्थितिले त्यति सहज देखाएको छैन ।

त्यसैले यो पुस्ताबाट कुनै एक सभापति बन्दा उसलाई स्वेच्छाचारी बन्न नदिने र चेक एन्ड ब्यालेन्स गर्ने भूमिकामा अर्को नेता रहने सम्भावनालाई नकार्न सकिन्न ।

salt training

कमेन्ट गर्नुहोस्