
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार रातिदेखि लागू हुने गरेर निषेध आदेश जारी गरेको छ । निषेध आदेशअनुसार माघ ७ गतेपछि दशरथ रंगशाला खोपकार्डका आधारमा प्रवेश गर्न दिइनेछ ।
साथै रंगशालामा कुल क्षमताको एक तिहाइ मात्रै दर्शक उपस्थित हुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्ने र उपस्थिति दर्शकहरूमध्ये एक तिहाइलाई ‘र्याण्डम’ छनोटका आधारमा एन्टिजेन परीक्षण आयोजकले व्यवस्था गर्नुपर्ने आदेशमा भनिएको छ ।
यस्तै आमसभा, जुलुस, भेला लगायतका गतिविधि माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी सेमिनारहरूलगायतका गतिविधि भर्चुअल सञ्चालन गर्ने, सिनेमा हल, दोहोरी साँझ डान्सबारहरूलगायतका मनोरञ्जनका क्षेत्रहरू माघ १५ सम्म सञ्चालन गर्न पाइनेछैन ।
भौतिक उपस्थितिमा गर्नुपर्ने कार्यक्रम भए स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना मात्र सहभागी हुने गरी माघ ७ गतेपछि खोपको मात्रा पूरा लगाएका व्यक्तिहरू मात्र उपस्थित भई सञ्चालन गर्न सकिनेछ ।
त्यस्तै शैक्षिक क्रियाकलापहरू माघ १५ सम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने तर, भर्चुअल वा वैकल्पिक सिकाइ विधिबाट सञ्चालन गर्नुपर्ने, पूर्व निर्धारित परीक्षाहरू, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरेर गर्नुपर्ने छ ।
माघ मसान्तसम्म धार्मिक स्थलहरूमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्नुपर्ने, माघ ७ गतेदेखि सबै सार्वजनिक निकायका सेवा प्राप्त गर्न खोपकार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गरिएको छ ।
यस्तै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनपछि कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमात्र काममा आउनुपर्ने, संस्थाको साधारण सभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या मान्नुपर्नेलगायतका आदेश गरिएको छ ।