
भारतमा चुनावका बेला धार्मिक नारा खुब लाग्ने गर्छ । सन् २०२२ मै हुने उत्तर प्रदेश विधानसभा चुनावअघि धार्मिक ध्रुवीकरण शुरू भएको छ ।
हिन्दू धर्मलाई प्रबद्र्धन गर्ने गरी राजनीति गर्दै आएको भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता संबित पात्राले हिन्दू विरोधीहरू एकजुट भएका दाबी गरेका छन् ।
भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै पात्राले भारतीय कांग्रेस र समाजवादी पार्टीबीच हिन्दूविरुद्ध घृणा फैलाउने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् ।
सोमवार कांग्रेसका यूपी प्रदेश अध्यक्षकै सामुन्ने मौलाना तौकीर रजाले कांग्रेसलाई समर्थन गरे, ती मौलानाले केही दिनअघि हिन्दूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको पात्राले बताए । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनले भनेका थिए, ‘यदि कानूनी व्यवस्था आफ्नो हातमा आएमा हिन्दूहरूलाई भारतमा बस्ने ठाउँ मिल्ने छैन । हामी हिन्दूस्तानको नक्सा नै परिवर्तन गरिदिने छौं ।’
केरानाबाट हिन्दूलाई पलायन गर्न भूमिका खेलेका नाहिद हसनलाई समाजवादी पार्टीले उम्मेदवार बनाएको आरोप समेत पात्राले लगाए ।
सहारनपुर गुद्वद्वारा हिंसाका मास्टरमाइन्ड भएको आरोप लागेका मोहर्रम अली पप्पूलाई समाजवादी पार्टीले चुनावी टिकट दिएको आरोप समेत प्रवक्ता पात्राले लगाएका छन् ।
भाजपाविरुद्ध कांग्रेस र समाजवादीले चुनावी तालमेल गर्ने चर्चा समेत चलिरहेको छ ।