०९ असार २०८३, मंगलबार

माघ १६ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णय

माघ १६ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णय

माघ १६ गतेदेखि २० गतेसम्म कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृह मन्त्रालयमा मंगलवार भएको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने जानकारी दिए ।

विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ । 

बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ ।

विदेशबाट नेपाल भित्रिने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । 

नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्