०८ साउन २०८३, शुक्रबार
पर्यटक बनेर खाडीमा श्रम

सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार

माघ ५, २०७८
सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार

पर्यटक भिसामा खाडी मुलुक जाने नेपालीहरू सरकारका लागि टाउको दुखाइको विषय बनेका छन् ।

पछिल्लो ५ महिनामा मात्रै पर्यटक भिसामा ६७ हजार ४ सय ४ नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ ।

उक्त संख्या सन् २०२१ को अगस्ट महिनादेखि डिसेम्बरसम्मको हो ।

‘पर्यटक भिसामा विदेश जाने नेपालीहरूको संख्या धेरै नै छ । त्यसमध्ये पनि खाडी मुलुक जाने धेरै हुनुहुन्छ,’ अध्यागमन विभागका प्रवक्ता शेखर पौडेलले लोकान्तरसँग भने ।

यसमध्येका सीमित भने विदेशमा आफन्तलाई भेट्न जानेहरू पनि छन् ।

पर्यटक भिसामा विदेश जाने ७० प्रतिशत खाडी मुलुकमा जाने रहेको विभागले जनाएको छ । उनीहरू काम गर्नका लागि नै चोर बाटो प्रयोग गरेर जाने गरेका हुन् ।

एक महिनाअगाडि अर्थात मंसिर १९ गते राति नेपाल वायुसेवा निगमको जहाजबाट दुबई जान लागेका ७६ जनालाई अध्यागमनले रोकेको थियो ।

ललितपुरको शुभेच्छा बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कागजपत्र बनाएर दुबई जान लागेका उनीहरूलाई शंकास्पद लागेपछि अध्यागमनले फर्काएको थियो । 

त्यो समयमा अध्यागमनले सहकारीको लेटरप्याडसहितको कागजात बोकेर दुबई जान लागेका उनीहरूलाई केही प्रश्न सोध्दा शंकास्पद पाएको थियो ।

त्यसपछि जहाजमा बसिसकेकाहरूलाई पनि फर्काइएको थियो ।

जानलागेकामध्ये ७० प्रतिशत महिला थिए ।

अहिले पनि अध्यागमनदेखि गृहमन्त्रालयसम्मलाई पर्यटक भिसामा जानेहरू टाउको दुखाइ बनेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले पर्यटक भिसामा विदेश जान दिने कि नदिने भन्ने विषयमा दुविधा भएको बताए ।

‘पर्यटक भिसामा जान नदिऊँ उनीहरूसँग कागजपत्र पर्याप्त हुन्छन्, जान दिऊँ उनीहरूको अवस्था हेर्दा पर्यटक भिसामा जानसक्ने देखिँदैन,’ प्रवक्ता कोइरालाले भने, ‘हामी दुविधामा परेका छौं ।’

पर्यटक भिसामा विदेश जान लागेका सहकारीका शंकास्पद व्यक्तिहरूलाई फर्काएपछि गृहमन्त्रालयले राज्य व्यवस्था समितिमा गएर जवाफ समेत दिनुपरेको थियो ।

‘संसद्को राज्य व्यवस्था समितिले हामीसँग जवाफ समेत मागेको थियो,’ प्रवक्ता कोइरालाले भने, ‘राज्यको कानून स्पष्ट नहुँदासम्म यस विषयमा दुविधा छ ।’

वास्तविक पर्यटक होइनन् भन्ने जान्दाजान्दै पनि बाध्यतावश पठाउनुपरिरहेको अध्यागमनका एक कर्मचारीले लोकान्तरसँग बताए ।

‘डकुमेन्ट हेर्दा सबै प्रक्रिया पूरा गरेको छ । बोक्नुपर्ने विदेशी मुद्रा पनि सटही गरेको छ तर उसको खुट्टामा चप्पल, जुत्तामा प्वाल परेको देखिन्छ । उनीहरूलाई हामीले जान दिने कि नदिने भन्ने विषयमा दोधार हुन्छ,’ ती कर्मचारीले भने, ‘जान नदिऊँ प्रक्रिया पूरा छ, जान दिऊँ विदेशमा समस्या परेर दुःख पाउँछन् ।’

त्यस्ता अधिकांश व्यक्ति विदेश पुगिसकेपछि समस्यामा पर्ने गरेका छन् ।

‘पर्यटक भिसामा विदेश गरेर समस्यामा परेपछि राजदूतावासको सम्पर्क आउने र उनीहरूलाई स्वदेश फर्काउन समस्या हुने गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

‘पर्यटक भिसामा विदेश जानेहरू त्यहाँ गएपछि अन्यत्र काम खोजेर बस्ने गर्नुहुन्छ । उहाँहरू फर्किने बेलामा र घटना परेपछि स्वदेश फर्कन समस्या पर्ने गरेको छ,’ प्रवक्ता लम्सालले लोकान्तरसँग भनिन् ।

उनले थपिन्, ‘त्यहाँ गएर काम गर्दा पारिश्रमिक पाउन र कानूनी जटिलता परेपछि स्वदेश फर्कन समस्या हुने गरेको छ । फेरि सरकारले उहाँहरूको समस्या समाधान गर्नुपर्छ ।’

१५ हजार लाग्ने ठाउँमा १ लाख लिन्छन् एजेन्ट

सामान्यतया खाडी मुलुकमा पर्यटक भिसामा जानका लागि हवाई टिकटबाहेक भिसा लगाइदिएको बढीमा १५ हजारसम्म लिन एजेन्टहरूलाई सरकारले सीमा तोकेको छ । तर एजेन्टहरूले १ लाखसम्म लिने गरेको पाइएको गृह स्रोतले लोकान्तरलाई बतायो । 

स्रोतका अनुसार पर्यटक भिसामा दुबई पठाएको प्रति व्यक्ति १ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

उनीहरूले अध्यागमनमा देखाउने १ हजार डलर पनि आफैँ दिने र दुबई पुगेपछि फिर्ता लिने गरेको पाइएको गृह स्रोतले जनाएको छ । 

विदेशबाट पठाउने स्पोन्सर कम्पनीको नाम नहुँदा कारवाहीको दायरा आउँदैनन् एजेन्ट

दुबई लगायतका खाडी मुलुकबाट आफन्तहरूले घुम्न बोलाएको स्पोन्सर लेटर अध्यागमनमा देखाउने र कम्पनीले पठाएको पत्र लुकाउने गर्दा कारवाही गर्न समस्या भएको गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

‘विदेशका कम्पनीबाट पठाएको स्पोन्सर पत्र देखाए भने उनीहरूलाई फर्काउन सकिन्थ्यो तर त्यो लुकाएर आफन्तले पठाएको स्पोन्सर लेटर मात्र देखाउँदा हामीले रोक्न मिल्दैन,’ प्रवक्ता कोइरालाले भने ।

विदेशी मुद्राको सटेज भएको भन्दै सरकारले खाडी मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स र सार्क मुलुकहरूमा न्यूनतम २५० अमेरिकी डलर लिएर जान पाउने व्यवस्था गरेको थियो । सोही कारण पनि पर्यटक भिसामा जानेहरूका लागि सजिलो भएको छ ।

यसभन्दा अगाडि खाडी मुलुकहरूमा पनि अनिवार्य ५ सय लिएर जानुपर्ने व्यवस्था थियो । 

salt training

कमेन्ट गर्नुहोस्