०५ साउन २०८३, मंगलबार

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, पूर्व अर्थमन्त्री पौडेलले गरे उद्घाटन

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, पूर्व अर्थमन्त्री पौडेलले गरे उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । 
 
नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् ।

भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् । 

महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिण भागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो । करीब ३ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । ४ तलाको अत्याधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रुपैयाँ रहेको थियो ।

निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी नयाँबानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेको थियो ।

कमेन्ट गर्नुहोस्