![उपत्यकामा आजदेखि यस्तो आदेश लागू, वर्क फ्रम होममा जोडदेखि सार्वजनिक स्थलमा कडाइसम्म [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/lockdown_police_M0ssnjuoEn.jpg)
काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि स्थानीय प्रशासनले थप कडाइ गरेको छ । यसअघिदेखि नै स्मार्ट लकडाउन गर्दै आएको प्रशासन गएरातिदेखि लागू हुनेगरी थप कडा प्रावधानसहितको आदेश जारी गरेको हो । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाइ गर्ने निर्णय गरेको थियो ।
जसअनुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय भएको छ । यस्तै शैक्षिक संस्थाहरुले भौतिक रुपमा पठन पाठन नगर्ने निर्णय भएको छ भने परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको छ । विश्व विद्यालय वा आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षाको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।
यस्तै सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, विदेशबाट आउँदा ५ दिन होम क्वारेन्टिनमा बस्न पनि स्थानीय प्रशासनले आदेश दिएको छ ।
यसैगरी सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी हुन नपाइने निर्णय गरिएको छ भने खोप कार्ड पनि अनिवार्य गरिएको छ । यस्तै विवाह, ब्रतबन्ध,लगायतका सामाजिक कार्यमा २० जनाको उपस्थिति हुन छुट दिइएको छ भने पार्टी प्यालेस प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्नेछ ।
यस्तै स्वास्थ्य मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्ने, जोर बिजोरका आधारमा निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने निर्णय पनि प्रशासनले गरेको छ। जोर बिजोरको हकमा जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बर प्लेटको सवारी चलाउन पाइनेछ । प्रशासनले वर्क फ्रम होममा जोड समेत दिएको छ ।




