
पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ ।
कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
प्रदेशको राजधानी शहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित छन् ।
स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको शर्माले बताए ।
यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी ९, गोरखा ६ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।