
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने माग गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी चुनाव सार्न गरिने कुनै पनि बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।
‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा एमालेको स्पष्ट, द्विविधारहित र स्पष्ट अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी किमार्थ स्वीकार्य हुने छैन’ ओलीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पनै नगरेको भन्दै एमालेले स्थानीय तहलाई रिक्त राख्नु भनेको जनतालाई सेवा–सुविधाबाट वञ्चित राख्नु भएकाे बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले समेत यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै २०७९ वैशाख १४ मा स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गरिसकेको छ । तर, यस्तो ताकेता र संविधान एवम् कानुनको यस स्पष्ट व्यवस्थालाई वेवास्ता गर्दै गठबन्धनका कतिपय नेताहरूले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रपञ्च गरिरहेका छन् ।’
पत्रकार सम्मेलनमार्फत धारणा राख्ने तयारी भएकोमा ओलीलाई कोरोना संक्रमण देखिएपछि विज्ञप्ति मार्फत एमालेले पछिल्ला घटनाहरूमा पार्टीको धारणा स्पष्ट गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति







