
काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।
आइतवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।
पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।
उनले स्थानीयवासीको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए ।
‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चावहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ,’ उनले भने, ‘पहिला पनि यहाँ स्थानीयको मागअनुसार चावहिल चोकको दक्षिणपट्टि एउटा पुल हामीले बनाइसक्यौँ । त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सराहना पनि गरे । यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चावहिल चोकको उत्तरपट्टि शिलान्यास गरेका हौँ ।’

उनले एउटा पुल मित्रपार्कमा पनि शिलान्यास गरिएको बताए । ‘यही बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ, एउटा कम्प्लिट हुने अवस्थामा छ । जयबागेश्वरीमा पनि शुरू भइसकेको छ, तार व्यवस्थापनका लागि केही समय लागिरहेको छ । त्यो पनि चाँडै सकिन्छ,’ उनले भने, ‘यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने अनुमान छ । स्थानीयवासीको सहयोग भए समय अघि नै काम सक्छौँ ।’
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइको हुनेछ । यसमा कार्यावेश रकम भ्याटसहित एक करोड ३० लाख ४२ हजार ५७८ रूपैयाँ छ ।