
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा २ गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् ।
बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा २ गुणा लगानी बढाउन आग्रह गरेका हुन् ।
‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ,’ उनले भने, ‘यसलाई सकेसम्म २ गुणा वृद्धि गर्नुहुनेछ ।’
जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै लगानी त्यसमा लगानी बढाउन आग्रह गरेका हुन् ।
मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अतिआवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो,’ उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’
उनले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थालाई पनि शिक्षा दिन सक्नुपर्ने बताए ।