०४ असार २०८३, बिहीबार

क्रिप्टोकरेन्सी कारोबारः एकै परिवारका ३ सहित ४ जनाविरुद्ध साढे ३७ करोडको मुद्दा

क्रिप्टोकरेन्सी कारोबारः एकै परिवारका ३ सहित ४ जनाविरुद्ध साढे ३७ करोडको मुद्दा

राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एकै परिवारका तीनसहित चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले उनीहरूविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १०० रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

विभागका अनुसार कैलाली लम्कीचुहा-१० घर भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र  गर्लफ्रेन्ड अनिता धितालविरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीहरूमाथि सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इ-स्क्रिल र बाइन्यान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसूर गरेको आरोप छ । 

विभागले कसूर पुष्टि भएको भन्दै ३७ करोड ६४ लाख ११ हजार १०० जफत गर्दै तीन वर्षसम्मको कैद सजाय मागदाबी गरेको छ । 

प्रतिवादीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू,बरामदित मोबाइलमा प्राप्त भएको डाटाहरू, कल डिटेल लगायत प्रमाणको आधारमा मुद्दा दर्ता गरेको विभागको भनाइ छ । अमेरिकी डलरको अनलाइनमार्फत अवैध रुपमा कारोबार गरिरहेको अभियोग लगाइएको छ। 

दिनेश खड्काको ग्लोबल बैंक समेतबाट ९ करोड  ७९ लाख ९८ हजार ५८१ रूपैयाँ, अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रूपैयाँ, भगवती खड़काको एनआईसी एसिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रूपैयाँ,  नरबहादुरको ग्लोबल आईएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रूपैयाँ गरेर कुल ३७ करोड ६४ लाख ११ हजार १०० रूपैयाँ विदेशी विनिमय गरेको आरोप लगाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्