१४ असार २०८३, आइतबार

भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाँणको आग्रह

भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले मंगलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरूपयोग गरेर पनि नेपाली नागरिकले तेस्रो मुलुकमा पीडा भोग्नुपरेको बताउँदै त्यसको दूरुपयोग नगर्न आग्रह गरेका छन् ।

उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए ।

उनले वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरूको उद्धारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘भिजिट भिसामा गएकाहरूले त्यहाँ श्रमिकको रूपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरूको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रिपरिषद्मा कुरा राख्नुभएको छ । त्यतापट्टि यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरून्, त्यतापट्टि नै हाम्रो सजगता हो । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो । यसमा नेपाल सरकार गृह मन्त्रालय लागि परेको छ । पहिलो त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरूलाई सहज होस् भन्ने हामी सबैको प्रयत्न हो । विभिन्न मन्त्रालयसँग आवद्ध र विभिन्न विभागका राष्ट्र सेवकहरूसँग यो विषयलाई व्यवस्थित बनाउन आवश्यक समन्वय होस् भन्ने हाम्रो मूल मनसाय हो । श्रम स्वीकृति लिएर जानेहरूका लागि पनि सहज वातावरण बनाउने काम हामी सबैको हो ।’

salt training

कमेन्ट गर्नुहोस्