काठमाडौं १६ असार– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । स्थानीय तहको चुनावको कारण देखाउदै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका थिए ।

मन्त्रिपरिषद् विस्तारको बिषयलाई लिएर प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग शुक्रवार परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुइनेताबीच मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक बिषयमा छलफल भएको प्रचण्डको निजि सचिवालयले जनाएको छ ।
पार्टी भित्रको विबादका कारण प्रधानमन्त्री निर्वाचित भएको एक महिना पुग्नै लाग्दा समेत देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । पार्टीमा आफूपक्षीय तीन नेता, माओवादी केन्द्रका तीन र विजयकुमार गच्छदारलाई लिएर देउवाले ८ सदस्सीय मन्त्रिमण्डल बनाएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘सम्मानजनक हैसियत’ पाएमात्र सरकारमा मन्त्री पठाउने बताउदै आएको छ । पौडेल समूहले पाँचवटा मन्त्रालय पाउनु पर्ने दावी गरेको छ । यसअघि पौडेल समूहले प्रस्ताव गरेका बलबहादुर केसीको नाममा देउवाले विमती जनाएको थियो ।
पौडेल समूहले नाम नदिए माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । देउवाले राप्रपालाई समेत सरकारमा सहभागि गराउने कोशिष गरिरहेका छन् ।