०७ असार २०८३, आइतबार

कहाँ के भयो, यस्तो छ ७ चुनावी नतिजा

कात्तिक २०, २०७४
कहाँ के भयो, यस्तो छ ७ चुनावी नतिजा
काठमाडौँ, १७ असार -



१ एक मतले विजयी
रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए ।
नयाँ पत्रिका लेख्छ- धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ मा पनि एक मत अन्तरको हारजित भएको छ । वडाध्यक्षमा उठेका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार मगरले एमाले उम्मेदवार इन्द्रबहादुर सारु मगरलाई एक मतले पराजित गरे । इन्द्रले ४९९ मत ल्याए भने मगरले ४९८ मत प्राप्त गरे ।

२. मत बराबरीपछि गोलाप्रथा
रोल्पाको दुईखोली गाउँपालिका–३ मा कांग्रेस र माओवादीका उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ । कांग्रेसका भीमबहादुर केसीसँग बराबरी भएपछि गोलाप्रथाबाट निर्णय लिँदा माओवादीका झपिराम डाँगी विजयी भएका छन् ।

३. अछाममा बराबरीपछि पुनः गणना
अछामको मेल्लेख गाउँपालिका–२ मा एमाले र माओवादी अध्यक्षका उम्मेदवारले ३२८÷३२८ मत ल्याएपछि पुनः मतगणना सुरु भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा मत बराबरी भएपछि गोलाप्रथाबाट निर्णय लिनुपर्नेमा व्यवस्था छ । तर, दलका प्रतिनिधिले गोलाप्रथा गर्न नमानेपछि पुनः मतगणना सुरु भएको हो ।

४ बाजुरामा विद्यार्थीले शिक्षकलाई हराए
बाजुराको बडिमालिका नगरपालिका–८ मा आफैंले पढाएका विद्यार्थीसँग शिक्षक पराजित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदार बनेका प्रकाश रावलले आफ्नै गुरु गोविन्द थापालाई पराजित गरेका हुन् । विजयी २१ वर्षीय रावलले ४८० मत ल्याए ।

५.रुकुमकी कुमारी पहिलो महिला अध्यक्ष
दोस्रो चरणको निर्वाचनअन्तर्गत रुकुमको सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल विजयी भएकी छन् । माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदार बनेकी बरालले तीन हजार दुई सय ९३ मत ल्याइन् । दोस्रो चरणको निर्वाचनमा स्थानीय तहमा निर्वाचित हुने बराल पहिलो महिला हुन् ।Major-party-Vote-Count

६ . प्रधानमन्त्रीको जिल्ला सदरमुकाममा एमाले विजयी
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकामा एमालेका विपिन ओझा विजयी भएका छन् । उपमेयरमा पनि एमाले नै विजयी भएका छ।


७ सासूसँग बुहारी पराजित
इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् । सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन् ।

कमेन्ट गर्नुहोस्