०७ असार २०८३, आइतबार

यात्रु नपाउँदा बैतडीको हवाई सेवा १ महिनादेखि बन्द

यात्रु नपाउँदा बैतडीको हवाई सेवा १ महिनादेखि बन्द
फाइल फोटो

बैतडीको हवाई सेवा १ महिनादेखि बन्द रहेको छ । 

गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो ।

साताको १ दिन शुक्रवार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।
    
नियमित रूपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए ।

उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।’

मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । १८ यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ ।

उनले भने, ‘दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४/१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।’  

विक्रम संवत् २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम शुरू भएर २०३५ सालदेखि हवाई सेवा शुरू भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।

त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

कमेन्ट गर्नुहोस्