०१ असार २०८३, सोमबार

म्याग्दी नदी नियन्त्रणको काम अलपत्र, स्थानीय बाढी, पहिरोको जोखिममा

म्याग्दी नदी नियन्त्रणको काम अलपत्र, स्थानीय बाढी, पहिरोको जोखिममा

नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै शुरूआत नहुँदा स्थानीय चिन्तित भएका छन् ।

बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर–३ दूधेखोला, वडा नम्बर–४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणका लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन ।

कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने शुरू भएको छ तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।

गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम शुरू भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । 

रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने शुरू गरिएको छ ।

‘मध्य हिउँद बितिसक्यो, अझै काम शुरू भएको छैन, हिउँदमा नदीको सतह घटेका समयमा काम हुँदैन, बर्खा लागेपछि काम शुरू हुन्छ,’ बगरफाँटका जीतबहादुर कार्कीले भने ।

प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि हालसम्म काम शुरू नभएको स्थानीय कुमार केसीले जानकारी दिए । ‘हिउँद बित्नै लाग्यो, अहिलेसम्म बजेटको समेत व्यवस्थापन हुनसकेको छैन,’ उनले भने । मसारमा नदी कटानबाट २ घर भत्किएका र १५ परिवार विस्थापित थिए । २०० घर कटानको उच्च जोखिममा रहेका उनले जानकारी दिए ।

बेनी–२ बगरफाँटमा पनि कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुनसकेको छैन । शिरानमा विशाल भीरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण बेनी–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ ।

२०५७ सालदेखि नदीले कटान गर्न शुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिंदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने नदीको तीव्रगतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् ।

‘गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैंभरि रहिरहन्छ,’ म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले भने ।

नदी कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको उनको भनाइ छ । उनका अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जंगल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ ।

पहिराले गाउँ कुरूप बन्दै जान थालेको र शिरानका ५ घर परिवारले आफ्नो घर नै छाडेर बसाइँ सरिसकेका स्थानीयवासी कृष्ण रिजालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्